लहान । नवराजपुर गाउँपालिका १ भगवतीपुरकी रिंकु सदाय मृत्यू प्रकरणमा अनुसन्धानको क्रममा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।
पञ्चायत बसेर पीडित परिवारलाई मिल्न र घटना दबाउन दबाब दिएका आठ पञ्चलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरुमाथि उजुरी भने परेका छैन ।
उजुरी नपरेपछि पञ्चायतमा बसेकाहरुलाई नियन्त्रणमा लिएको र उनीहरु पनि दबाब दिएको पुष्टि भएमा कारबाही हुने छानविन समितिका संयोजक समेत रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शान्तिराज कोइरालाले जानकारी दिए ।
गत माघ २७ मा शौच गर्न गएकी रिंकुलाई अपहरण गरी तीन यूवाले बलात्कार गरी अचेत अवस्थामा घर पुर्याएका थिए । सो घटना मिलाउन पञ्चायत बसेर पीडित परिवारलाई दबाब दिएको थियो ।
पञ्चायत बसेको विहानपल्ट माघ ३० मा रिंकु घरमै मृत फेला परेकी थिइन् । पीडित परिवारले ईलाका प्रहरी कार्यालय लहानमा तीन बलात्कारका आरोपी र पाँच पञ्चविरुद्ध चारवटा शिर्षकमा जाहेरी दिएका छन् ।