सरकारलाई गति दिन तीनवटा कार्यदल
कांग्रेस–एमालेले सरकारले सोचेअनुसार गति लिन नसकेको निष्कर्षसहित तीनवटा कार्यदल गठन गरेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार बसेको उच्चस्तरीय कार्यदल बैठकमा तीनवटा छुट्टाछुट्टै कार्यदल गठन गरिएको हो । जसअनुसार संविधान संशोधन, संसद्मा विचाराधीन विधेयकलाई अघि बढाउन र सरकारको सेवाप्रवाहसँग सम्बन्धित रहेर सुझाव पेस गर्ने गरी छुट्टाछुट्टै कार्यदल बनाइएको हो ।
रमेश लेखक, गृहमन्त्री
संविधान संशोधनका लागि कार्यदल बनाउने सहमति भएको छ, बनेको छैन । संसद्का विधेयक अघि बढाउन नयाँ संयन्त्र बनाइएको होइन, दुईदलीय संयन्त्र सक्रिय बनाएको मात्र हो । सुशासन र सेवाप्रवाह सुधार, आर्थिक गतिविधि बढाउन आवश्यक कानुनलाई परिमार्जन गर्ने गरी अर्को संयन्त्र बनाइएको हो ।विधेयकमा सहमति जुटाएर आगामी संसद्को अधिवेशनमा पेस गर्न सुझाव दिन गठित कार्यदलमा संसदीय विभागका प्रमुखहरू, प्रमुख सचेतक र सचेतकहरू सदस्य छन् । सरकारको सेवा प्रवाह र सुशासनसँग सम्बन्धित कार्यदलमा कांग्रेसबाट सेमन्त दाहाल, अरुण पौडेल र प्रताप पौडेल सदस्य छन् । एमालेबाट पूर्वमुख्यसचिव लीलादेवी गड्तौला, केदार कोइराला र राजेन्द्र घिमिरे सदस्य छन् । संयन्त्रले मन्त्रालयको कामकारबाहीको समेत ब्रिफिङ लिनेछ ।
गृहमन्त्री रमेश लेखकले सरकार र संसद्को कामकारबाही प्रभावकारी बनाउन दुई दलबिच समन्वयका लागि कार्यदल गठन गरेको बताए । ‘संविधान संशोधनका लागि कार्यदल बनाउने सहमति भएको छ, बनेको छैन । संसद्का विधेयक अघि बढाउन नयाँ संयन्त्र बनाइएको होइन, दुईदलीय संयन्त्र सक्रिय बनाएको मात्र हो । सुशासन र सेवाप्रवाह सुधार, आर्थिक गतिविधि बढाउन आवश्यक कानुनलाई परिमार्जन गर्ने गरी अर्को संयन्त्र बनाइएको हो । समग्रमा सरकार र संसद्को कामकारबाही प्रभावकारी बनाउन आवश्यक काममा दुई दलबिच समन्वयका लागि कार्यदल बनाइएको हो,’ उनले भने ।
एमाले प्रमुख सचेतक महेश बर्तौलाले भने विधेयकका विषयमा दुई दलबिच प्रभावकारी समन्वयका लागि शीर्ष नेतृत्वले निर्देशन मात्र दिएको जिकिर गरे । ‘संसदीय कामकारबाहीलाई नियन्त्रण गर्ने गरी हामीले छुट्टै कार्यदल बनाएका होइनौँ । संसद्भित्रको परिभाषित काम र जिम्मेवारीका लागि छुट्टै कार्यदल आवश्यक छैन । नेतृत्वले प्रमुख दुई दलबिच आवश्यक समन्वय गर्ने गरी प्रभावकारी रूपमा परिचालित हुने भनेको हो,’ उनले भने ।
उपप्रधानमन्त्री प्रकाशमान सिंहले कार्यदल गठन भएको जानकारी दिँदै सबै दलसँगको छलफलबाट संविधान संशोधनको प्रक्रिया अघि बढाइने बताएका छन् ।सभार नयाँ पत्रका । बुधबार रुपन्देहीमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान संशोधनका लागि कांग्रेस र एमालेको कार्यदल बनिसकेको र कार्यदलले आन्तरिक रूपमा काम गरिरहेको बताए ।