काठमाडौँ —चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको बिजुली भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको साउन, भदौ असोज, कात्तिक र मंसिरमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब ७६ करोड युनिट बिजुली भारततर्फ निर्यात गरेको हो ।चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ७ रुपैयाँ ३९ पैसा छ ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने गरेको छ । त्यसैले प्राधिकरणले विद्युत् बिक्री गरी ८ अर्ब १५ करोड भारु आम्दानी गरेको छ ।असोजमा आएको बाढीपहिरोका कारण मुख्य रूपमा ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रमा क्षति पुगी विद्युत् उत्पादन बन्द हुँदा निर्यात प्रभावित भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।माथिल्लो तामाकोशी बन्द भएका कारण त्यसपछिका महिनामा विद्युत् निर्यात घटेको र सुक्खायाम सुरु भएसँगै जलविद्युत् आयोजनाहरूको उत्पादन घटेकाले पोहोरभन्दा यस वर्ष चाँडै आयात गर्नुपरेको कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे ।
अहिले विद्युत् निर्यात बन्द भएको छ भने आयात सुरु गरिएको छ । हिउँदयाम सुरु भएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्दा जलविद्युत् आयोजनाहरूको उत्पादन कमी भई देशभित्रको विद्युत् माग धान्न हिउँदका केही महिनामा विद्युत् आयात गर्नुपर्नेछ । नदी तथा खेलानालामा पानीको बहाव बढ्न सुरु भएपछि उत्पादन बढ्ने हुँदा त्यसपछि विद्युत् निर्यात पुनः सुरु हुनेछ ।


