समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट (एमाले)ले सचिवालय बैठक बोलाएको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक आज (शनिवार) बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुनेछ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने बैठकमा सहभागी हुन सचिवालय सदस्यहरूलाई पत्राचार गरिसकिएको छ ।
एमालेको सचिवालयमा उपाध्यक्ष ईश्वर पोखरेलसहित युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे, गुरुप्रसाद बराल र शङ्कर पोखरेल छन् ।
यसैगरी प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद रिमाल, लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्माकुमारी अर्याल सचिवालय सदस्य छन् ।