बाराको जीतपुरमा अवस्थित विभिन्न घाटहरु छठ पूजाका लागि सुन्दर बेहुलीझैं सजाइयो
मनाेज शाह जितपुर बारा कार्तिक २० गते:
तराई मधेसमा मनाइने सबैभन्दा गहिरो आस्था बोकेको पवित्र पर्व नै छठ पर्व हो । यस पर्वको छुट्टै विशेष महत्त्व रहेको छ । प्रकृति पूजा र सूर्य उपासनाको महापर्व छठ पूजाका लागि जितपरमा मात्रै तीन दर्जन बढी छठ घाटहरुलाई सुन्दर बेहुलीका रुपमा सजाइएको छ। तीमध्ये जीतपुर केराढोका नजिकको नदी छेउमा , रातेपुलकाे छेउमा , बकुलिया सडकको नजिकै विशेष रूपमा सजाइएको छ।
निक्कै श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व विधिवतरूपमा मंगलबारदेखि सुरु भएको छ। छठको मुख्य दिन कात्तिक २२ गते परेको छ। उक्त दिनलाई सँझिया घाटे भनिन्छ। षष्ठीका दिन पर्ने सँझिया घाटे र त्यसको भोलिपल्ट सप्तमी तिथीमा पर्ने भोरिया घाटेका दिन छठका ब्रतालुहरु छठघाटमा पुगेर जलाशयमा उभिएर छठी माता र सूर्य भगवान्को उपासना गर्दै अर्घ दिने गर्छन्।
छठ पूजाका लागि जितपुरमा रहेका जलाशय (पोखरी र नदी)लाई निक्कै आकर्षक तरिकाले साजसज्जा गरी छठघाटका रूपमा सजाइएको हो।जितपुर वडा ७ केरा ढाेकालाई पनि छठ घाटका लागि बेहुलीझैं सजाइएको छ।केरा ढाेका वरिपरिमा आकर्षक टेण्टपण्डाल र झिलिमिली विद्युतीय बत्ती लगाएर निक्कै आकर्षक तरिकाले सजाइएको छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष नितेश पासवानले बताए। उनका अनुसार छठ घाट व्यवस्थापन तथा सजावटमा करिब ३ लाख रुपैयाँ खर्च गरिएको छ।
त्यस्तै जितपुरसिमरा बकुलिया वडा ५ मै पर्ने छठ घाट, वडा नम्बर ८ रमौलीमा पर्ने सरिसवा छठघाट, वडा १२ मा पर्ने फतेपुर र वडा नम्बर १० मा पर्ने वडा कार्यालय छेउको छठघाट सजवाटको काम पनि अन्तिम चरणमा पुगेको आयोजक समितिहरूले जनाएका छन्।