काठमाडौँ । लगातारको वर्षाका कारण सिर्जिएको बाढी, पहिरो र डुबानमा परेर हालसम्म एक सय ९२ जनाको मृत्यु भएको छ । घटनामा ३० जना बेपत्ता भएका छन् । यस्तै एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।
यस प्राकृतिक विपद्मा परेकाको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित हुँदा अहिलेसम्म करिब ४ हजार ५ सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको जनाइएको छ ।
सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिनुका साथै बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।