चालू आर्थिक वर्ष ०८१/८२ को पहिलो महिनामा सरकारको व्ययभन्दा आय दोब्बर देखिएको छ । साउनमा खर्च न्यून भए पनि राजस्व संकलन भने उल्लेखनीय भएको हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार साउन महिनामा सरकारले ९४ अर्ब ७४ करोड राजस्व संकलन गरेको छ ।
जुन वार्षिक लक्ष्य १४ खर्ब १९ अर्बको ६.६८ प्रतिशतबराबर हो । यस अवधिमा सरकारले ७७ अर्ब ४१ करोड कर राजस्व र १७ अर्ब ३३ करोड गैरकर राजस्व संकलन गरेको हो । सरकारले दुई अर्ब २१ करोड अन्य प्राप्तिसमेत गरेर कुल ९६ अर्ब ९५ करोड रुपैयाँ प्राप्ति गरेको छ । जुन खर्चको तुलनामा ५६ अर्ब ७५ करोड रुपैयाँले बढी हो ।
त्यस्तै, साउन महिनामा सरकारले कुल ४० अर्ब २० करोड रुपैयाँ खर्च गरेको छ । जुन कुल वार्षिक बजेट १८ खर्ब ६० अर्बको २.१६ प्रतिशतबराबर हो । यस अवधिमा सरकारले चालूतर्फ १२ अर्ब ३८ करोड, पुँजीगततर्फ ८५ करोड र वित्तीय व्यवस्थातर्फ १९ अर्ब २७ करोड खर्च भएको हो ।
राजस्व संकलन र खर्च दुवै बढ्यो
सरकारले गएको आर्थिक वर्षको पहिलो महिनाको तुलनामा राजस्व संकलन र खर्च दुवै बढाएको छ । गत आवको साउनको तुलनामा चालू आवको साउनमा राजस्व संकलन १५ अर्ब ८७ करोड र खर्च पाँच अर्ब १७ करोडले बढी भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ ।
गत आवको पहिलो महिनामा ७८ अर्ब ८७ करोड राजस्व संकलन भएको थियो । जुन कुल लक्ष्य १४ खर्ब २२ अर्बको ५.५४ प्रतिशतबराबर थियो । उक्त महिनामा ३५ अर्ब तीन करोड कुल खर्च भएको थियो । जुन विनियोजित बजेट १७ खर्ब ५१ अर्बको २ प्रतिशतबराबर थियो ।सभार नयाँ पत्रका । उक्त महिनामा चालूतर्फ १२ अर्ब १३ करोड, पुँजीगततर्फ ८२ करोड र वित्तीय व्यवस्थातर्फ २२ अर्ब सात करोड रुपैयाँ खर्च भएको थियो ।