बारामा पुन: दोहोरियो सवारी दुर्घटना

रन्जित चाैधरी, बारा, असार १५ गते :

बारामा समयसमयमा ट्राफिक सचेतनामूलक कार्यक्रमहरु सञ्चालन भएतापनि सवारी दुर्घटनाका मामिलामा कमी आएको छैन । बारामा निरन्तर रुपमा सवारी साधन दुर्घटना दोहोरिँदै गएको छ । जितपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाई नजिकै पुन: सवारी दुर्घटना भएको हो ।

चुरियामाई मन्दिरदेखि लगभग ३०० मिटर दक्षिणतर्फको जङ्गलमा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । हेटौंडादेखि बीरगंजतर्फ आउँदै गरेको बा प्र ०१ ००४ क ०५३२ नम्बरको मालवाहक ट्रकलाई सोही दिशाबाट आउँदै गरेको BR0LPG0835 नम्बर प्लेट रहेको भारतीय स्कर्पियोले ठक्कर दिएको हो ।

स्कोर्पियोले ट्रकलाई ठक्कर दिँदा स्कर्पियोको अगाडिको भागमा ठूलो क्षति पुगेको छ भने ट्रकको पछाडिको भागमा समेत क्षति भएको प्रहरीले जनाएको छ । उक्त सवारी दुर्घटनामा कुनै मानवीय क्षति नभएको तथा सामान्य घाइते भएको जनाइएको छ । ट्रक र स्कर्पियो अमलेखगञ्जस्थित ईलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा स्कर्पियोका चालक भारतको बिहारस्थित सीतामढी बैरेनिया निवासी अन्दाजी ४० वर्षीय पंकज सिंहको हात र खुट्टामा सामान्य चोटपटक लागेको छ भने स्कर्पियोमै सवार भारतको बिहारस्थित सीतामढी बैरेनिया निवासी अन्दाजी ४२ वर्षीय श्याम नामक व्यक्तिको टाउको, हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । ट्रक चालक भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।