जीतपुरसिमरा क्रिकेट कपः जनकपुरविरुद्ध मकवानपुरको रोमाञ्चक जीत

जीतपुरसिमरा क्रिकेट कपः जनकपुरविरुद्ध मकवानपुरको रोमाञ्चक जीत
मनाेज शाह जितपुर बारा चैत ६ गते: जितपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा मकवानपुर क्रिकेट संघले रोमाञ्चक जीत हात पारेको छ । समूह ‘बी’ को पहिलो खेलमा मकवानपुरले जनकपुर पिस फाउण्डेशनलाई ३१ रनले पराजित गरेको हो ।

मकवानपुरको जीतमा अलराउण्डर शुभ कंसकार नायक बने । ब्याटिङतर्फ शानदार सतक प्रहार गरेका कंसकारले बलिङमा पाँच विकेट लिन सफल भए । उनको उत्कृष्ट प्रदर्शनले प्रतियोगितामा मकवानपुरले बिजयी सुरुवात गर्यो ।

टस जितेर ब्याटिङ रोजेको मकवानपुरले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १८१ रन जोडेको थियो । ओपनरका रुपमा मैदानमा आएका कंसकारले ५५ बलमा आठ छक्का र नौ चौका प्रहार गर्दै १११ रन जोडेका थिए । कप्तान सुमन सुनारले अविजित २४, गौरव खड्का र आस्तिक दाहालले समान १८ रन बनाए ।

जनकपुरका अधिकांश बलर महंगो सावित भए । उसका लागि बि. धवन सहनी, साइमोन रोय, अभिजित मण्डलले समान एक–एक विकेट लिए । मकवानपुरले दिएको १८२ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको जनकपुरले सानदार सुरुवात गरेपनि मध्यक्रमका ब्याटर चल्न नसक्दा पराजित हुन पुग्यो ।

जनकपुरका ओपनर अलि अकबर अंसारी र हिमांशु दत्तले आक्रामक ब्याटिङ गर्दै राम्रो सुरुवात गरेका थिए । उनिहरुले पहिलो विकेटका लागि ७९ रनको साझेदारी गरेका थिए । तर मकवानपुरका अशिम श्रेष्ठले ओपनर अंसारीको विकेट लिदै टिमलाई पहिलो सफलता दिलाएका थिए ।

अंसारीपछि क्रिजमा आएका बिशाल सुस्लिङ समेत उस्तै लयमा देखिदा जनकपुरको जीत सहज बनिरहेको थियो । तर खेलको १२औं ओभरमा बलिङ गर्न आएका कंसकारले सुस्लिङ र पर्शुराम यादवलाई एउटै ओभरमा पेभेलियन फर्काए । १७ बलमा १९ रन बनाउँदै खेलिरहेका सिस्लुङको विकेट लिएका कंसकारले त्यसपछि क्रिजमा आएका यादवलाई शुन्यमै आउट गरेका थिए ।

कंसकारले एक ओभरमै दुई विकेट लिएपछि जनकपुरको पालि धर्मराउन पुग्यो । १२१ को स्थितिमा दोस्रो विकेट गुमाएको जनकपुरले १३८ रन जोड्दा आठ विकेटको क्षति व्यहोरेको थियो । चन्दन यादवले १३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो संख्यामा रन बनाउन सकेनन् ।

मकवानपुरका कंसकारले तीन ओभर बलिङ गर्दै सात रन खर्चिएर पाँच विकेट लिए । पियुश शर्माले दुई, समिर चौलागाईं, अशिम श्रेष्ठ र सुवर्ण भट्टले समान एक–एक विकेट लिए । कंसकार खेलको प्लेयर अफ दि म्याच घोषित भए । उनलाई नेकपा एमालेका मधेस प्रदेश सचिव मनोज पौडेलले पुरस्कृत गरेका थिए ।

प्रतियोगिता अन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा बुधवार जनकपुर र खुकुरी क्रिकेट क्लब भैरहवाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘बी’ मा मकवानपुर, जनकपुर र भैरहवा छन् । यो समूहको विजेताले लागि पर्सा क्रिकेट संघसंग चैत्र १० गते उपाधिका लागि खेल्नेछ । समूह ‘ए’ को विजेता बन्दै पर्सा फाइनलमा प्रवेश गरिसकेको छ ।

अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा जारी प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।

 

गायिका कल्पना काफलेको स्वरमा  “फरर डोरी” सार्वजनिक

गायिका कल्पना काफलेको स्वरमा  “फरर डोरी” सार्वजनिक

मनाेज शाह जितपुर बारा चैत ६ गते:
नेपाली मौलिक लोक गीत संगीतमा सक्रिय गायक विष्णु डुम्रे र गायिका कल्पना काफलेको स्वरमा  “फरर डोरी” बोलको गीत सार्वजनिक गरेका छन् । मायाको डोरी आफनी मायालुलाई गास्नको लागी गीत मार्फत आग्रह गरिएको छ । जिवन भण्डारीको शब्द तथा विष्णु डुम्रे लय सिर्जना भने विष्णु डुम्रेले गरेका छन । मौलिक सिर्जनाको विकास एवम विस्तारका लागी भएपनी यस गीतले नेपाली संगीतको सागरमा केही भएपनी योग्दान दिने उहाँले बताउनुभयो ।

गीतको भिडियोमा लोमस शर्मा र  अस्मिता रनपालको आकर्षक अभिनय देख्न सकिन्छ । मौलिक स्वादमा तयार भएको गीतको भिडियोलाई कुमार केशीद्वारा निर्देशित भिडियोलाई अजय रेग्मीको छायांकन तथा अमृत चापागाईँको सम्पादन रहेको छ ।

चुरियामाई मन्दिर तथा सुरुङ्ग संरक्षण एवम् व्यवस्थापन समितिको तेश्रो अधिवेशन सम्पन्न : चुरियामाई सिमानाबारे कार्यक्रममै चर्कियो विवाद, चुरियामाई मन्दिर बारा वा मकवानपुरमा पर्नेबारे अझै अस्पष्ट

चुरियामाई मन्दिर तथा सुरुङ्ग संरक्षण एवम् व्यवस्थापन समितिको तेश्रो अधिवेशन सम्पन्न : चुरियामाई सिमानाबारे कार्यक्रममै चर्कियो विवाद, चुरियामाई मन्दिर बारा वा मकवानपुरमा पर्नेबारे अझै अस्पष्ट

 

मनोज  शाह, जीतपुर बारा, चैत्र ६ गते

 

मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५ मा अवस्थित नेपालकै चर्चित एवम् धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्व बोकेको चुरियामाई मन्दिरको विकास, संरक्षण एवम संवर्द्वनको लागि गठित चुरियामाई मन्दिर तथा सुरुङ्ग संरक्षण एवम् व्यवस्थापन समितिको तेश्रो अधिवेशन आज भव्यताका साथ सम्पन्न भएको छ । श्री प्रेमबहादुर बम्जन राईको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा प्रमुख अतिथि बाग्मती प्रदेशको सामाजिक विकास मन्त्री माननीय कुमारी मोक्तान हुनुहुन्थ्यो भने विशिष्ट अतिथिमा हेटौंडाको मेयर मीना कुमारी लामा, जीतपुरसिमरा उपमहानगरपालिकाको मेयर राजन पौडेलको उपस्थिति रहेको थियो । कार्यक्रममा मधेस प्रदेशका पूर्व सांसद माननीय श्री सुन्दर विश्वकर्मा विशेष अतिथिको रुपमा पाल्नुभएको थियो ।

 


चुरियामाई मन्दिर तथा सुरुङ्ग संरक्षण एवम् व्यवस्थापन समितिको तेश्रो अधिवेशनले १३ सदस्यीय नयाँ कार्यसमितिको गठन गरेको छ । नव निर्वाचित कार्यसमितिमा अध्यक्ष पदमा प्रेमबहादुर बम्जन, उपाध्यक्षमा सन्तलाल स्याङ्तान र राजकुमार साह चयन भएका छन् । यसैगरी सचिवमा सिंहबहादुर वि.क., सहसचिवमा सरस्वती सिलवाल तथा कोषाध्यक्षमा चमेली पुलामी मगर निर्वाचित भएका छन् भने सदस्यहरुमा राम कुमार, राजकुमार लामा, बुद्धिमाया घलान, राजु नगरकोटी, प्रीतम राना, राम कुमार पुलामी, बाबुकाजी निर्वाचित भएका छन् ।

 

कार्यक्रममा बोल्ने क्रमामा वक्ताहरुबीच बारा तथा मकवानपुरबीचको जिल्ला सिमानाबारे चर्काचर्की भएको थियो । यसका साथै धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चुरियामाई मन्दिर मधेस प्रदेशको बारा जिल्लामा पर्ने कुरामा केही वक्ताहरुले जोड दिएका थिए भने केही वक्ताहरुले धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको चुरियामाई मन्दिर बागमती प्रदेशको मकवानपुर जिल्लामै पर्ने कुरामा जोड दिएका थिए । सिमाना विवादलाई यथाशीघ्र टुङ्गो लगाउनुपर्ने कुरामा जोड दिँदै जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले पर्सा राष्ट्रिय निकुञ्ज तथा चुरियामाई मन्दिर क्षेत्रलाई परापर्यटनको रुपमा विकास गर्न तथा पर्यटकीय गन्तव्य एवम् धार्मिक आस्थाको केन्द्रको रुपमा विकास गर्नको लागि हेटौंडा र जीतपुर उपमहानगरपालिकाको साथै बागमती प्रदेश र मधेस प्रदेशबीच सहकार्य आवश्यक रहेको कुरामा जोड दिनुभयो ।

 

पर्सामा हुण्डी कारोबारमा संलग्न एक व्यक्ति पक्राउ : नगदसहित १९ थान चेकबुक बरामद

पर्सामा हुण्डी कारोबारमा संलग्न एक व्यक्ति पक्राउ : नगदसहित १९ थान चेकबुक बरामद

 

मनोज शाह, जीतपुर बारा, चैत्र ५ गते

 

पर्साको वीरगंज महानगरपालिका वडा नं. १६ दुर्गाहल पछाडिको गल्ली सडकखण्डबाट एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गत आइतबार विशेष सूचनाको आधारमा दिउँसो २:३० बजेको समयमा वीरगंज महानगरपालिका वडा नं. १६ दुर्गाहल पछाडिको गल्ली सडकखण्डमा शंकास्पदरुपमा हिँडिरहेको व्यक्तिलाई प्रहरीले रोकेर कानुनी रीत पुर्‍याई खानतलासी गर्दा सो व्यक्तिले बोकेको झोलामा लुकाईछिपाई राखेको स्रोत नखुलेको रकम तथा चेकबुक बरामद भएपछि पक्राउ गरिएको प्रहरीले स्पर्श खबरलाई जानकारी दिएका छन् । पक्राउ पर्नेमा धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ६ घर भई हाल पर्साको वीरगंज महानगरपालिका अन्तर्गत वडा नं. १६ बस्ने वर्ष ५० को रामबाबु साह कलवार रहेको प्रहरीले जनाएको छ ।

 

रामबाबु साह कलवारबाट प्रहरीले नेपाली रु. १००० दरका ३३५ थान नोट, रु. ५०० दरका ६८२ थान नोटसहित जम्मा ६,८२,००० ।-(छ लाख बयासी हजार) नेपाली रुपियाँ बरामद गरेको छ भने भारतीय प्रतिबन्धित रु.५०० दरका ५६ थान नोट गरी जम्मा भारतीय रुपियाँ २८,०००।- (अठाइस हजार) बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक विक्रम थापाले स्पर्श खबरलाई जानकारी दिएका छन् ।

 

पक्राउ परेका रामबाबु साह कलवारबाट प्रहरीले विभिन्न बैंकहरुको १९ थान चेकबुकहरु समेत बरामद गरेको छ । कलवारबाट कृषि विकास बैंकको २ थान चेकबुक, माछापुच्छ्रे बैंकको २ थान, सानिमा बैंकको ५ थान, NIMB बैंकको २ थान, मुक्तिनाथ विकास बैंकको २ थान, ग्लोबल बैंकको ३ थान, प्राइम बैंकको २ थान तथा मेघा बैंकको २ थान चेकबुक गरि जम्मा १९ थान चेकबुक बरामद गरिएको प्रहरीले जनाएको छ । ती व्यक्तिबाट २ थान मोबाइलसमेत बरामद भएको छ । पक्राउ परेका रामबाबु साह कलवारलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरुद्धको कसूरमा थप अनुसन्धान कार्य भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले स्पर्श खबरलाई जानकारी दिएका छन् ।

जीतपुरसिमरा क्रिकेट कपः कलैयाद्धारा आयोजक ९ विकेटले पराजित

जीतपुरसिमरा क्रिकेट कपः कलैयाद्धारा आयोजक ९ विकेटले पराजित

मनाेज शाह जितपुर बारा चैत ५ गते:
जीतपुरसिमरा क्रिकेट कप प्रतियोगितामा सोमबार कलैया क्रिकेट क्लब बिजयी भएको छ । समूह ‘ए’ को अन्तिम खेलमा कलैयाले आयोजक जीतपुरसिमरा स्पोर्टस् क्लबमाथि ९ विकेटको फराकिलो जीत हात पारेको हो ।

सेज क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको आयोजकले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८५ रन जोडेको थियो । आयोजकका लागि पुजन श्रेष्ठले २६, अजय पटेलले १२ रन बनाउँदा अन्य ब्याटर चल्न सकेनन् ।

आयोजकलाई सस्तोमा समेटने क्रममा शंकर पौडेल र अरनिको यादवले समान दुई विकेट लिए भने अनिलकुमार साह, कुमार थापा र मनु हवारीले एक–एक विकेट लिए । ८६ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको कलैयाले ७.३ ओभरमै जीत हात पारेको हो ।

कलैयाको जीतमा निरज यादवले बिष्फोटक ब्याटिङ गर्दै ५० रन बनाए । खेलमा अविजित रहेका उनले २२ बलमा पाँच चौका र चार छक्का प्रहार गरे । यसैगरी कलैयाका ओपनर साहिल पटेलले १६ र कप्तान त्रितराज दासले १० रन बनाए । आयोजकका लागि प्रभात लामाले एक विकेट लिए ।

टिमलाई सानदार जीत दिलाएका निरज प्लेयर अफ दि म्याच घोषित भए । उनलाई जनता माध्यमिक विद्यालयका सहप्रध्यानाध्यापक बरुण गौतमले पुरस्कार वितरण गरेका थिए ।

आयोजकविरुद्ध सानदार जीत हात पारेपनि कलैया प्रतियोगिताबाट बाहिरिसकेको छ । समूह ‘ए’ बाट लगातार दुई खेल जित्दै चार अंकका साथ पर्सा क्रिकेट संघ फाइनलमा पुग्दा कलैया र आयोजक उपाधी होडबाट बाहिरिएका हुन् ।

कलैयाले आफ्नो पहिलो खेलमा आइतबार पर्सा क्रिकेट संघसंग पाँच विकेटको हार व्यहोरेको थियो । पहिलो खेलमा हार व्यहोरेको कलैयाले दोस्रो खेलमा आयोजकविरुद्ध सान्त्वना जीत हात पार्दै दुई अंक बटुलेको हो । यता लगातार दुई खेलमा पराजित हुँदै आयोजक अंकविहिन बनेको छ । आयोजकले आफ्नो पहिलो खेलमा पर्सा क्रिकेट संघसंग ७७ रनले पराजित भएको थियो ।

प्रतियोगिता अन्तर्गत मंगलबारदेखि समूह ‘बी’ का खेल हुनेछन् । समूह ‘बी’ को पहिलो खेलमा मकवानपुर क्रिकेट संघ र जनकपुर पिस फाउण्डेशन भिड्दैछन् । यस समूहको तेस्रो टोलीको रुपमा खुकुरी क्रिकेट क्लब भैरहवा रहेको छ ।

समूह ‘बी’ को शिर्ष टोलीले पर्सा क्रिकेट संघसंग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल खेल चैत्र १० गते हुनेछ । अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा जारी प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।

 

तेस्रो परवानीपुर गोल्डकप :  वीरगन्ज युनाइटेड क्लब सेमिफाइनलमा

तेस्रो परवानीपुर गोल्डकप :  वीरगन्ज युनाइटेड क्लब सेमिफाइनलमा
मनाेज शाह जितपुर बारा चैत ५ गते:

तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा वीरगन्ज युनाइटेड क्लब ,वीरगन्ज बिजयी भएको छ ।

शक्ति युवा क्लबको आयोजनामा जारी खेलमा नव जन जागृती युवा क्लब सिमरालाई वीरगन्ज युनाइटेड क्लब वीरगन्जले १-० गोल अन्तरले हराएको हो ।

परवानीपुर खेल मैदानमा भएको खेलको पहिलो हाफको पाँचौ मिनेटमा वीरगन्ज युनाइटेड क्लब ,वीरगन्जका जर्सी नम्बर ११ का खेलाडी अमर डन्गोलले पहिलो गोल गरे ।

उनले गरेकै गोल नै अन्तिम सम्म वीरगन्ज युनाइटेड क्लब ,वीरगन्जको लागि निर्णायक रहयो ।

वीरगन्ज युनाइटेड क्लबका खेलाडीले सुरु मै गरेको गोल नव जन जागृती युवा क्लबका खेलाडीले अन्तिम सम्ममा फर्काउन नसकेपछि पराजित हुन पुगेका हुन ।

आजको खेलमा वीरगन्ज युनाइटेड क्लब ,वीरगन्जका जर्सी नम्बर ११ का खेलाडी अमर डन्गोलले म्यान अफ दि म्याच घोषित भए ।

उनलाई परवानीपुर निवासी युवा प्रदीप सरार्फले नगद २१ सय सहित शिल्ड प्रदान गरे ।

अगामी चैत १० गते चल्ने प्रतियोगितामा आयोजक शक्ति युवा क्लब ,वीरगन्ज युनाइटेड एफसी , हनामी भरतपुर फुटबल क्लब चितवन ,वीरगन्ज युथ एकेडेमी ,हेटौंडा फुटबल एकेडेमी मकवानपुर ,नव जन जागृती युवा क्लब सिमरा ,चिडिया दह स्टार क्लब रौतहट र बाग्मती फुटबल क्लब सर्लाही सहभागी हुनेछन ।

यस्तै प्रतियोगितामा प्रथम हुने क्लबले नगद दुई लाख एक हजार र दोस्रो हुने क्लबले एक लाख एक हजार सहित प्रमाणपत्र र शिल्ड पाउने प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले बताए ।

प्रतियोगिता भरी उत्कृष्ट खेलाडीहरुको लागी विभिन्न विद्यामा विद्यागत पुरस्कार पनि राखिएको उनले बताए ।

तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताका संयोजक सुबोध श्रीवास्तवको अध्यक्ष्तामा भएको खेलमा
प्रमुख अतिथि राप्रपा पर्साका कोषाध्यक्ष रामेश्वर महतो थिए ।

KTM 250DUKE GEN-3 मोटरसाईकल नेपाली बजारमा,वीरगंजमा पुर्वमन्त्री वेगमले गरिन सार्वजनिक

KTM 250DUKE GEN-3 मोटरसाईकल नेपाली बजारमा,वीरगंजमा पुर्वमन्त्री वेगमले गरिन सार्वजनिक

 

पवन प्रसाद साह वीरगंज चैत ५ गते:

KTM 250DUKE GEN-3 मोटरसाईकलको आज एक बिशेष कार्यक्रमका बिच वीरगंजमा पनि सार्वजनिक गरिएको छ ।

जनमत पार्टीका केन्द्रिय सदस्य एवं पुर्व कृषि राज्यमन्त्री करिमा वेगमले केक र रिबन काटेर सो मोटरसाईकल सार्वजनिक गर्नुभयो ।  ७ लाख ३९ हजार नौ सय मुल्य रहेको सो मोटरसाईकल ५० प्रतिशत डाउन पेमेन्टमा लिन सकिने ईनाया ट्रेडिङ्गका संचालक  साहिद प्रवेजले बताए । KTM 250DUKE GEN-3  मोटरसाईकल देशै भरि आज दिउँसो एक बजे सार्वजनिक गरिएको संचालक साहिद प्रवेजले बताए । प्रवेजले जेन ३ भर्जन नेपाली बजारमा सिमित अवधिको लागि मात्र ७ लाख ३९ हजार नौ सय मा उपलब्ध रहेको बताए ।

KTM 250DUKE GEN-3मा रेस ईन्सपाईड लाईन, स्पेर्टि लुक्स, नयाँ च्यासिस, स्टिल ट्रेलिस फ्रेम,लाईटवेट व्हिल,हाई पर्फमेन्स ब्रेक जस्ता बिशेषता रहेको कम्पनीले जनाएको छ । साथै यस बाईकमा  रियर मेनेशक, कर्भड कास्ट आल्मुनियम स्वीङ्ग आर्म, अफसेट डब्लुपि एपेक्स शक पनि समावेश गरिएको छ । जसले ईम्प्रुभ्ड हान्डलिङ्ग पाउन सकिन्छ भने फोर पिस्टन रेडियल क्यालिपर्स र सुपरमेट एविएसले उत्कृष्ट ब्रेकिङ्ग प्रदान गर्दछ । हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.का सहायक महाप्रबन्धक बिजय श्रेष्ठले  नयाँ जेनेरेशनको KTM 250DUKE GEN-3  नेपाली बजारमा सार्वजनिक भएसंगै नेपालका मोटरसाईकल पारखीहरुका लागि नयाँ अनुभव प्रदान हुने दावी गरे ।

ईच्छुक ग्राहकहरुले नेपाल भरिका सवै केटिएम शो रुमबाट बाईक लिन सकिने कम्पनीले जनाएको छ । वीरगंजमा यो बाईक खरिदको लागि हुलास फाईनान्सले फाईन्स गर्ने लोन अफिसर रविकान्त चौरसियाले बताए ।

कार्यक्रममा फाईनान्सका रिजनल अफिसर रुपेश साह, ईनाया टे«डिङ्गका कर्मचारी लगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

पर्सामा मालवाहक ट्रक प्रहरीको नियन्त्रणमा

पर्सामा मालवाहक ट्रक प्रहरीको नियन्त्रणमा

 

मनोज  शाह, जीतपुर बारा, चैत्र ४ गते

 

पर्साको वीरगंजबाट काठमाडौंतर्फ जान लागेको विभिन्न सामानहरु लोड भएको मालवाहक ट्रक प्रहरीले चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको छ । चैत्र २ गतेका दिन प्रहरीले विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा उक्त ट्रकमा बिल बिजकभन्दा बढी सामानहरु लोड भएको पाइएको थियो । वीरगंजबाट काठमाडौंतर्फ जान लागेको ना.६ ख. ५२५४ नम्बरको ट्रकमा बिल बिजकभन्दा बढी हार्डवेयर सामानहरु लोड भएको तथा सो बिल बिजक शंकास्पद देखिएको हुँदा प्रहरीले ट्रकलाई आफ्नो नियन्त्रणमा लिएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले स्पर्श खबरलाई जानकारी दिनुभयो ।

 

विशेष सूचनाको आधारमा चैत्र २ गते राति ५:३० बजेको समयमा चेकजाँच गर्दा उक्त ट्रकबाट बिल बिजकभन्दा बढीको Power Bank, Ear Buds लगायतका बिलमा उल्लेख भए बमोजिम अ.मु.रु. १,९१,७८,६८१ ।- (एक करोड एकानब्बे लाख अठहत्तर हजार छ सय एकासी रुपियाँ) बराबरको ईलेक्ट्रोनिक्स सामानहरु नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाहीका लागि चैत्र ४ गतेका दिन राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले स्पर्श खबरलाई जानकारी दिनुभयो ।

पर्सा क्रिकेट संघ जीतपुरसिमरा क्रिकेट कपको फाइनलमा प्रवेश

पर्सा क्रिकेट संघ जीतपुरसिमरा क्रिकेट कपको फाइनलमा प्रवेश

मनाेज शाह जितपुर बारा चैत ४ गते:

पर्सा क्रिकेट संघ जीतपुरसिमरा टी–२० क्रिकेट कपको फाइनलमा प्रवेश गरेको छ । औराहस्थित सेज क्रिकेट मैदानमा आइतबार भएको खेलमा कलैया क्रिकेट क्लबलाई पराजित गर्दै पर्सा समूहको बिजेताको रुपमा फाइनलमा प्रवेश गरेको हो ।

लगातार दोस्रो खेल जित्ने क्रममा पर्साले कलैयालाई ५ विकेटले पराजित गरेको हो । यसअघि शनिबार भएको पहिलो खेलमा पर्साले आयोजक जीतपुरसिमरा स्पोर्टस् क्लबलाई ७७ रनले पराजित गरेको थियो । दुई खेल जीतेको पर्सा समूह ‘ए’ को विजेताको रुपमा फाइलनमा पुगेको हो ।

टस जितेर ब्याटिङ रोजेको कलैयाविरुद्ध पर्साका बलर हावी भए । पर्साले १६.४ ओभरमा सम्पूर्ण विकेट लिदाँ कलैयाले ७९ रन जोडेको थियो । कलैयाका लागि अनिलकुमार साहले ११, साहिल पटेलले ११, भुलावन सहनीले १० र सेराज हवारीले अविजित १४ रन बनाउँदा अन्य ब्याटर चल्न सकेनन् । कलैयालाई सस्तैमा समेटने क्रममा पर्साका अनुज चौहानले तीन विकेट लिए । अनुजले ९ बलमा पाँच रन दिँदै कलैयाको तीन विकेट लिए भने चन्दन राम र सम्साद मन्सुरीले समान दुई–दुई विकेट लिँदा वसिम मन्सुरी, सोनु शर्मा, अल्फाज मन्सुरीले एक–एक विकेट लिए ।

८० रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको पर्साले पाँच विकेट गुमाउँदै १९औं ओभरमा जीत निकालेको थियो । पर्साका लागि अनुज चौहानले सर्वाधिक ३० रन बनाए । खेलमा अविजित रहेका उनले ३९ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै टिमलाई जीत नजिक पु¥याएका थिए ।

पहिलो ओभरमै विकेट गुमाएर खराब सुरुवात गरेको पर्साको इनिङ असाब हुसेन र सुरज पटेलले सम्हालेका थिए । असाबले १० र सुरजले १९ रन बनाए । कलैयाका लागि त्रितराज दासले दुई विकेट लिए । दास शनिबार सम्पन्न कोशी टी–२० च्याम्पियनसिपको उपाधी नेपाल आर्मीले जित्दा प्लेयर अफ दि टुर्नामेन्ट घोषित भएका थिए । कलैयाका लागि अन्य दुई विकेट भुलावन सहनी र शंकर पौडेलले लिए ।

पर्साका जीतमा उत्कृष्ट प्रदर्शन गरेका अनुज चौहान प्लेयर अफ दि म्याच समेत घोषित भए । उनलाई शुभारम्भ कलेजका संचालक डा. राहुल झाले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिता अन्तर्गत सोमबार समूह ‘ए’ को अन्तिम खेलमा कलैया क्रिकेट क्लब र आयोजक भिड्नेछन् । दुवै टिम प्रतियोगिताको उपाधी होडबाट बाहिरिसकेका छन् ।

अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजित प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् । चैत्र १० गतेसम्म संचालन हुने प्रतियोगितामा बारा, पर्सा, मकवानपुर, भैरहवा, जनकपुरका ६ टिम सहभागी छन् ।

 

परवानीपुर गोल्डकप : हेटौंडा फुटबल एकेडेमी मकवानपुर विजयी

परवानीपुर गोल्डकप : हेटौंडा फुटबल एकेडेमी मकवानपुर विजयी

मनाेज शाह जितपुर बारा चैत ४ गते ।

तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा हेटौंडा फुटबल एकेडेमी मकवानपुर विजयी भएको छ ।

शक्ति युवाको आयोजनामा जारी प्रतियोगितामा चिडिया दह स्टार क्लब रौतहटलाई हेटौंडा फुटबल एकेडेमीले ट्राईब्रेकरमा ४ – २ गोल अन्तरले हराएको हो ।

परवानीपुर खेल मैदानमा भएको खेलमा पहिलो हाफको १९ औ मिनेटमा चिडिया दह स्टार क्लब रौतहटका जर्सी नम्बर ७७ का खेलाडी गणेश धामीले पहिलो गोल गरे ।

सुरु देखिको खेलमा दबाबमा रहेको हेटौंडा फुटबल एकेडेमी मकवानपुरले खेलको २२ औं मिनेटमा आफ्नो गोल गरेको थियो ।

आफ्नो पहिलो गोल हेटौंडा फुटबल एकेडेमी मकवानपुरका जर्सी नम्बर १३ का खेलाडी दाबा लामाले गरेर खेलमा फर्केका थिए ।

खेलको ५० औं मिनेटमा हेटौंडा फुटबल एकेडेमी मकवानपुरका जर्सी ९ का खेलाडी अन्जन बछारले गोल गरेर टिमलाई अग्रता दिलाए ।

खेलको ६४ औं मिनेटमा चिडिया दह स्टार क्लब रौतहटका जर्सी नम्बर १७ का विवेक बिकले गोल गरेर खेललाई बराबरीमा पुर्याए ।

आजको खेलको निर्धारित ९० मिनेटको समयमा दुबै टिम २-२ गोल गरेर बराबरीमा खेलपछी खेल ट्राईब्रेकरमा धकेलिएको थियो ।

ट्राईब्रेकरमा चिडिया दह स्टार क्लब रौतहटका खेलाडी मध्ये दुई खेलाडी बल पोस्ट बाहिर हानेका थिए ।
भने हेटौंडा फुटबल एकेडेमी मकवानपुरका खेलाडी सबै बल पोस्टको जाली चुमाएका थिए ।

आजको खेलको म्यान अफ दि म्याच हेटौंडा फुटबल एकेडेमी मकवानपुरका गोलकिपर अस्बिर गुम्बा घोषित भए ।

गुम्बालाई परवानीपुर निवासी मनी आलमले २ हजार १ सय नगद सहित र ट्रफी प्रदान गरे ।
भोलिको खेल वीरगन्ज युनाइटेड क्लब वीरगन्ज र नव जन जागृती क्लब सिमरा बीच हुने प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले बताए ।

चैत १० गते चल्ने प्रतियोगितामा आयोजक शक्ति युवा क्लब ,वीरगन्ज युनाइटेड एफसी , हनामी भरतपुर फुटबल क्लब चितवन ,वीरगन्ज युथ एकेडेमी ,हेटौंडा फुटबल एकेडेमी मकवानपुर ,नव जन जागृती युवा क्लब सिमरा ,चिडिया दह स्टार क्लब रौतहट र बाग्मती फुटबल क्लब सर्लाही सहभागी हुनेछन ।

यस्तै प्रतियोगितामा प्रथम हुने क्लबले नगद दुई लाख एक हजार र दोस्रो हुने क्लबले एक लाख एक हजार सहित प्रमाणपत्र र शिल्ड पाउने उनलेे बताए ।

त्यस्तै प्रतियोगितामा खेलाडीहरुको लागी विभिन्न विद्यामा विद्यागत पुरस्कार पनि राखिएको उनले बताए ।