जीतपुरसिमराको वडा नं. ७ मा विकासको कुरा नारामा मात्रै सीमित : तीनै तहले उपेक्षा गरेको जनताको गुनासो

जीतपुरसिमराको वडा नं. ७ मा विकासको कुरा नारामा मात्रै सीमित : तीनै तहले उपेक्षा गरेको जनताको गुनासो

मनोज  शाह, जीतपुर बारा, चैत्र १ गते

जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गतको वडा नं. ७ का बासिन्दाहरु यस क्षेत्रमा विकास निर्माणका कार्यहरु समयमै नभएकाले आजित भएका छन् । खासमा सडक, नाला तथा खानेपानी जस्ता अत्यावश्यक पूर्वाधारहरुको निर्माण तथा विकासका लागि यहाँका जनताहरुले वडा कार्यालयमा पटकपटक खबर गर्दा पनि वडाले कुनै चासो नदेखाएकाले निर्वाचित जनप्रतिनिधिहरुले यहाँका जनताहरुलाई भोट बैंकको रुपमा मात्रै प्रयोग गरेको तथा सर्वसाधारण जनताको दु:ख पीडाप्रति कुनै सरोकार नरहेको कुरा प्रमाणित भएको स्थानीयहरुले गुनासो पोखेका छन् ।

निर्वाचित जनप्रतिनिधिहरुले विकास निर्माणका कार्यमा चासो नदेखाएपछि वडा ७ का बिर्जु साहले आफ्नै लगानीमा नाला निर्माण गर्न बाध्य भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं.७ जीतपुरको तरकारी बजारमा रहेको नाला विगत लामो समयदेखि भत्किएको थियो । जसको कारणले गर्दा स्थानीय बासिन्दा लगायत बजारमा सरसामान किनमेल गर्न आउने ग्राहकहरुले समेत सास्ती व्यहोर्नुपरेको थियो । यस समस्याबारे वडा तथा नगरपालिकामा समेत आफूले पटकपटक जानकारी गराउँदा पनि वडाध्यक्ष एवम् मेयरबाट कुनै कदम नचालिएकाले उनीहरुको यस्तो व्यवहारबाट आफू रुष्ट एवम् आजित भएको स्थानीय बिर्जु साहले बताए । जीतपुर तरकारी बजारमा खानेपानीको लागि एउटा पनि सार्वजनिक धाराको व्यवस्था नरहेको समेत उनले गुनासो गरे । जीतपुर बजारमा किनमेलका लागि आउने ग्राहकहरु तिर्खाले छटपटाउने गरेको दृश्यले आफूलाई मर्माहित बनाएकोले सबैका लागि शुद्ध पिउने पानीको व्यवस्था गर्न आफ्नै लगानीमा धारा समेत जडान गरेको कुरा स्थानीय बिर्जु साहले जानकारी गराए ।

 

जीतपुरसिमरा उपमहानगरपालिका वडा ७ को फरक फरक ठाउँ वा टोलमा विकास निर्माणको कार्यमा सम्बन्धित निकायले भेदभाव गरेको गुनासो पोख्दै कतै हतारहतार नाला तथा सडक बनाइए पनि कतै सडक-नाला निर्माण नहुने, बजार तथा नाला समेत सरसफाइ नहुने गरेको स्थानीय बासिन्दा असर्फी पटेलले आक्रोश पोखे । बजारमा जताततै जम्मा भएका फोहोरतर्फ ध्यानाकर्षण गराउँदै हाल जीतपुर बजार फोहोरको डङ्गुर बनेको स्थानीय बासिन्दा असर्फी पटेलले दुखेसो पोखे । यसै गरी जीतपुर ७ शान्तिटोल निवासी शैलेस सराफले वरिपरिका सबै गल्लीहरुमा बाटो बने पनि आफू बस्ने गल्लीमा अहिलेसम्म सडक नबनेकोले यस वडामा विकासको कुरा नारामा मात्रै सीमित रहेको गुनासो गरेका छन् । जीतपुरसिमरा उपमहानगरपालिकाकै एकमात्र व्यापारिक केन्द्रको रुपमा आफ्नो पहिचान बनाएको जीतपुर नगरी अहिले केन्द्रीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारको प्राथमिकतामा नपर्दा विकास निर्माणले गति लिन सकेको छैन । निर्वाचित जनप्रतिनिधिहरु पनि आफ्नै दुनो सोझ्याउनपट्टि लागेकाले जाबो सानो नाला निर्माण गर्न नसक्नेहरुले समग्र जीतपुरको विकास गर्लान् भनी सोच्नु व्यर्थ छ भनेर स्थानीय बासिन्दाहरुले गुनासो गरेका छन् ।