तलब माग गर्दा मजदुरहरु उद्योग प्रशासनबाटै गुन्डा शैलीमा कुटिए

तलब माग गर्दा मजदुरहरु उद्योग प्रशासनबाटै गुन्डा शैलीमा कुटिए

मनोज शाह, जीतपुर बारा, चैत्र २ गते

पर्सा जिल्लाको वीरगंज महानगरपालिका अन्तर्गतको वडा नं.२१ परवानीपुरमा अवस्थित श्री पेपर वर्क्स प्रा.लि. का मजदुरहरु सोही उद्योगको प्रशासनबाट गुन्डा शैलीमा कुटिएका छन् । नेपाल सरकारले वृद्धि गरेबमोजिमको तलब रकम अन्य उद्योगका मजदुरहरुले पाइसकेकाले आफूहरुलाई पनि नेपाल सरकारको नियमबमोजिमको वृद्धि भएको तलब रकम उपलब्ध गराउनका लागि श्री पाना पेपर वर्क्स प्रा. लि. का मजदुरहरुले उद्योग प्रशासन पक्षलाई पटकपटक जानकारी गराएका थिए ।

श्री पाना पेपर वर्क्स प्रा. लि. का प्र. अधिकृत ताराचन्द्र प्रसाद यादवले श्रावण महिनादेखिको वृद्धि भएको तलब रकम उपलब्ध गराउनुपर्ने मजदुरहरुको मागलाई बेवास्ता गर्दै आएका छन् । उद्योग प्रशासनले बिना कसुर तथा कुनै प्रकारको सूचना नै नदिई १३ जना कामदारहरुलाई कामबाट निकालेपछि मजदुर तथा उद्योग प्रशासनबीचको विवाद झनै चुलिएको छ ।

नेपाल सरकारले वृद्धि गरेको तलब रकम पाउनु सबै मजदुरहरुको हक भएकोले आफूहरुले पनि वृद्धि भएको तलब रकम पाउनुपर्ने श्री पाना पेपर वर्क्स प्रा. लि. का मजदुरहरुले स्पर्श खबरलाई बताए । मजदुरहरुले युनियन दर्ता गरेको तथा वृद्धि भएको तलबको माग गरेको निहुँमा उद्योग प्रशासनले बिना कसुर तथा कुनै प्रकारको सूचना नै नदिई १३ जना कामदारहरुलाई कामबाट निकाल्नुको साथै बाहिरबाट गुन्डाहरु बोलाएर मजदुरहरुमाथि निर्घात् कुटपिट गर्न लगाएको आरोप मजदुरहरुले लगाएका छन् ।

गत फाल्गुन २९ गतेका दिन उद्योग प्रशासनले बाहिरी मान्छेहरुलाई उद्योग परिसरभित्रै बोलाएर काम गरिरहेका मजदुरहरुलाई गुन्डा शैलीमा निर्घात् कुटपिट गर्न लगाएको छ । ती गुन्डाहरुबाट निर्घात् रुपमा कुटिएका श्री पाना पेपर वर्क्स प्रा. लि. का मजदुर नरेश यादव घाइते भएका छन् । घाइते भएका नरेश यादवलाई ढाड, खुट्टा, घाँटी, छातीमा रातो डाम देखिने गरी चोट लागेको छ । श्री पाना पेपर वर्क्स प्रा. लि. का मजदुरहरुले विगत ३ महिनादेखि काम गरेको तलब समेत उद्योगले उपलब्ध नगराएकोले घरपरिवार विचल्ली भएको तथा खान लाउन समेत कठिनाइ भएको मजदुरहरुले जनाएका छन् ।

यस घटनाबारे श्री पाना पेपर वर्क्स प्रा. लि. का प्रशासकीय अधिकृत ताराचन्द्र प्रसाद यादवसँग फोनमार्फत् बुझ्न खोज्दा मजदुरहरुले झुटो आरोप लगाएको हुनुपर्छ  बताए ।