प्रथम जीतपुरसिमरा क्रिकेट कप आयोजना हुने

प्रथम जीतपुरसिमरा क्रिकेट कप आयोजना हुने

मनाेज शाह, जितपुर बारा, फागुन २८ गते:

जीतपुरसिमरा उपमहानगरपालिकाले आज पत्रकार सम्मेलनको आयोजना गरी प्रथम जीतपुरसिमरा क्रिकेट कप २०८० को आयोजना गर्न लागिएको जानकारी दिएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं. ३ स्थित रहेको खेलमैदानमा पत्रकार सम्मेलनको आयोजना गरी चैत्र ३ गतेदेखि चैत्र १० गतेसम्म प्रतियोगिता आयोजना गरिने जीतपुरसिमरा उपमहानगरपालिकाका उपमेयर भोला अधिकारीले जानकारी दिनुभयो ।


प्रथम पटक आयोजना गर्न लागिएको क्रिकेट प्रतियोगिताको कुल लागत २४ लाख ५ हजार रहेको क्रिकेट प्रतियोगिताको संयोजक सोमबहादुर बम्जनले जानकारी दिनुभयो । क्रिकेट प्रतियोगिताको सफलताको लागि आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भाेला अधिकारीले बताउनुभयो ।

 

प्रथम जीतपुरसिमरा क्रिकेट कपमा जम्मा ६ ओटा टिमहरुको सहभागिता रहने आयोजकले जानकारी गराएको छ । प्रतियोगिताको विजेता टिमलाई रु. १ लाख तथा उपविजेतालाई रु. ५० हजार दिइनेछ भने प्रतियोगिताको उत्कृष्ट खेलाडीहरुलाई जनही रु. १०/१० हजार पुरस्कार दिइने आयोजकले जानकारी दिएको छ ।

प्रथम जीतपुरसिमरा क्रिकेट कप २०८० लाई सफलतापूर्वक सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने आयोजकले जानकारी दिएको छ । त्रिलोक विक्रमले सहजीकरण गर्नुभएको पत्रकार सम्मेलनमा नेकपा एमाले मधेस प्रदेश पार्टीका सचिव मनाेज पाैडेल, संस्था अध्यक्ष लक्ष्मी तिमिल्सिना , समाजसेवी रवीन्द्र प्याकुरेल, क्रिकेट खेलाडी लगायतको उपस्थिति रहेको थियोे ।