स्थानीय चुनावको तयारीमा निर्वाचन आयोग सक्रिय, राष्ट्रिय दलसँग आजै निर्णायक छलफल
काठमाडौँ मंसिर ४ गते:
स्थानीय तह निर्वाचनको तयारीलाई तीव्रता दिँदै निर्वाचन आयोगले राजनीतिक दलहरूसँग औपचारिक छलफल र परामर्श सुरु गरेको छ। जनप्रतिनिधिको कार्यकाल सकिनुअघि नै निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित आयोग चुनावी गृहकार्यमा जुटेको हो।

आयोगले आज बिहान ११ः३० बजे राष्ट्रिय मान्यता प्राप्त छ राजनीतिक दलका प्रतिनिधिलाई छलफलका लागि आमन्त्रण गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार स्थानीय तथा प्रदेश तहको निर्वाचन, मिति निर्धारण र आवश्यक तयारीका विषयमा दलहरूसँग परामर्श गरिनेछ।
छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिहरू सहभागी हुनेछन्।
स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा समाप्त हुँदैछ। त्यसैले समयमै निर्वाचन सम्पन्न गर्नुपर्ने दबाबबीच आयोगले निर्वाचनको मिति, व्यवस्थापन, सुरक्षा तथा आवश्यक पूर्वतयारीबारे दलहरूको धारणा लिन थालेको हो।
राष्ट्रिय मान्यता प्राप्त दलहरूसँगको छलफलपछि आयोगले अन्य दर्तावाला राजनीतिक दलहरूसँग समेत परामर्श गर्ने तयारी गरेको छ।
निर्वाचनको मिति घोषणा हुन बाँकी रहे पनि आयोगको सक्रियताले राजनीतिक दलहरूलाई चुनावी तयारीमा थप दबाब परेको छ। अब प्रश्न एउटै छ—निर्वाचन समयमै हुन्छ कि राजनीतिक दलहरूको आन्तरिक तयारी र सहमतिमै अल्झिन्छ?