मधेस सरकार संकटमा! मुख्यमन्त्री कृष्णप्रसाद यादव आज विश्वासको मत लिँदै, ५४ सांसद जुटाउन चुनौती
जनकपुरधाम कार्तिक २८ गते:
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको सत्ता टिक्ने वा ढल्ने टुंगो आज लाग्ने भएको छ। मुख्यमन्त्री यादवले शनिबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।

नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि यादव नेतृत्वको सरकार अल्पमतमा परेको हो। सत्ता जोगाउन मुख्यमन्त्री यादव अहिले विभिन्न राजनीतिक दलका नेतासँग समर्थन जुटाउने कसरतमा छन्।
१०७ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि कम्तीमा ५४ सांसदको समर्थन आवश्यक छ। तर कांग्रेससँग २२ सांसद मात्रै रहेकाले मुख्यमन्त्रीलाई थप ३२ सांसदको समर्थन जुटाउनुपर्ने कठिन चुनौती छ।
प्रदेशसभामा जसपा नेपालका २७, एमालेका २३, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन्। त्यस्तै संघीय समाजवादी पार्टी र राप्रपाका एक–एक सांसद छन्।
एमालेका चार मन्त्रीले असोज २५ गते र नेपाली कम्युनिष्ट पार्टीका चार मन्त्रीले कात्तिक २० गते राजीनामा दिँदै समर्थन फिर्ता लिएपछि सरकार संकटमा परेको हो।
अब सबैको नजर जसपा नेपाल, जनमत पार्टी र साना दलको निर्णयमा केन्द्रित भएको छ। ५४ सांसदको समर्थन जुटाउन नसके मुख्यमन्त्री यादवको सत्ता यात्रा संकटमा पर्नेछ।
आजको मतदानले मधेस प्रदेशको सत्ता समीकरणमा नयाँ मोड ल्याउने निश्चित देखिएको छ।