सिमरामा आतंक मच्चाउने कुकुर नियन्त्रणमा, समात्ने क्रममा वडाध्यक्ष श्रेष्ठलाई नै टोक्यो!

सिमरामा आतंक मच्चाउने कुकुर नियन्त्रणमा, समात्ने क्रममा वडाध्यक्ष श्रेष्ठलाई नै टोक्यो!
दर्जनौँ स्थानीयलाई टोकेपछि दिनभर त्रास, तीन वर्षीया बालिकादेखि महिलासम्म गम्भीर घाइते
स्पर्श खबर जितपुर बारा कार्तिक ३ गते:
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित सिमरा बजार क्षेत्रमा दर्जनौँ स्थानीयलाई टोकेर आतंक मच्चाएको कुकुरलाई सोमबार साँझ नियन्त्रणमा लिइएको छ। घण्टौँको प्रयासपछि वडा नं. २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र स्थानीय युवाहरूले उक्त कुकुरलाई नियन्त्रणमा लिएका हुन्।


कुकुर नियन्त्रणमा लिने क्रममा वडाध्यक्ष श्रेष्ठ आफैँ पनि घाइते भएका छन्। सिमरा चोक आसपासका सर्वसाधारणलाई टोक्दै नेपाल विद्युत् प्राधिकरणको सिमरा वितरण केन्द्रतर्फ गइरहेको कुकुरलाई समात्न खोज्दा श्रेष्ठको हातमा टोकेको हो।कुकुरको आक्रमणबाट वडा नं. १ र २ का बासिन्दा दिनभर त्रसित बनेका थिए। सोमबार बिहान मन्दिरमा पूजा गर्न गएकी जीतपुरसिमरा–२ की मन्दिरा रिजालमाथि कुकुरले एक्कासि आक्रमण गर्दा उनको ओठमा गम्भीर चोट लागेको थियो। प्राथमिक उपचारपछि थप उपचारका लागि उनलाई काठमाडौं पठाइएको छ।


यसअघि पनि सोही कुकुरले जीतपुरसिमरा–२ की तीन वर्षीया बालिका आयंका तामाङमाथि आक्रमण गरेको थियो। कुकुरको टोकाइबाट बालिकाको ओठ र चिउँडोमा गम्भीर चोट लागेको छ। उनको उपचार भइरहेको छ।
बालिकामाथिको आक्रमणपछि पुनः रिजाललाई टोकेसँगै स्थानीय युवा र नगर प्रहरीको टोली बिहानैदेखि कुकुरको खोजीमा जुटेको थियो। दिनभरको प्रयासका बाबजुद नियन्त्रणमा लिन नसकिएको उक्त कुकुरले सोमबार साँझ छोटो समयमै थप सात जनालाई टोकेपछि सिमरा बजार क्षेत्रमा त्रास झनै बढेको थियो।


अन्ततः वडाध्यक्ष श्रेष्ठ र स्थानीय युवाहरूले कुकुरलाई नियन्त्रणमा लिएपछि स्थानीयवासीले राहतको सास फेरेका छन्। कुकुरको आक्रमणको जोखिमबीच नियन्त्रणको प्रयासमा खटिएका वडाध्यक्ष श्रेष्ठको स्थानीयस्तरमा प्रशंसा भइरहेको छ।

सिमरामा कुकुरको आक्रमणबाट बालिकादेखि महिलासम्म घाइते भएपछि सर्वसाधारणले सडक तथा सार्वजनिक स्थानमा हिँडडुल गर्दा सतर्कता अपनाउनुपर्ने देखिएको छ। कुकुरको टोकाइमा परेकाहरूले तत्काल स्वास्थ्य संस्थामा पुगेर उपचार तथा रेबिजविरुद्धको आवश्यक सल्लाह लिनु महत्त्वपूर्ण हुन्छ।