वडा नम्बर ७ मा नयाँ पुस्ताको दाबी : इमानदार र कर्मठ युवा अयुब आलम मैदानमा उत्रिने तयारी
मनोज कुमार शाह जितपुर बारा असोज १८ गते। जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा आगामी २०८३ फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै इमानदार, कर्मठ तथा युवा सामाजिक अभियन्ता अयुब आलमले वडा अध्यक्ष पदका लागि तयारी थालेका छन्।

स्थानीयस्तरमा युवामाझ लोकप्रिय रहेका आलमले वडा नम्बर ७ को विकास, पारदर्शिता र जनताको प्रत्यक्ष सहभागितालाई प्राथमिकतामा राखेर अघि बढ्ने तयारी गरिरहेको बताइएको छ। लामो समयदेखि सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका आलमले अब जनताको समस्या समाधान गर्ने जिम्मेवारी राजनीतिक नेतृत्वमार्फत लिन चाहेको देखिन्छ।
‘पुरानो शैली होइन, काम गरेर देखाउने नेतृत्व’ भन्ने भावनासहित अघि बढ्ने तयारीमा रहेका आलमले युवाको ऊर्जा, अनुभवी पुस्ताको सुझाव र स्थानीय जनताको अपेक्षालाई समेटेर वडाको समग्र विकास गर्ने लक्ष्य राखेका छन्।
वडा नम्बर ७ मा आगामी निर्वाचनलाई लिएर सम्भावित उम्मेदवारहरूको चर्चा सुरु भएसँगै अयुब आलमको तयारीले स्थानीय राजनीतिक वृत्तमा समेत नयाँ बहस सुरु गरेको छ। अब उनको उम्मेदवारीले कस्तो राजनीतिक समीकरण बनाउँछ भन्ने विषय चासोको केन्द्रमा रहने देखिन्छ।
जनताको बीचमा बसेर काम गर्ने कि भाषणमै सीमित हुने? आगामी निर्वाचनले त्यसको जवाफ दिनेछ। तर अहिलेदेखि नै आलमको तयारीले वडा नम्बर ७ को चुनावी माहोल तात्न थालेको संकेत गरेको छ।