बारा–४ मा कांग्रेसको नयाँ समीकरण : लोकेश सिंह सर्वसम्मत क्षेत्रीय सभापति
स्पर्श खबर जितपुर बारा असाेज १४ गते:
नेपाली कांग्रेस बारा क्षेत्र नं. ४ को क्षेत्रीय सभापतिमा युवा नेता लोकेश सिंह सर्वसम्मत चयन भएका छन्। जीतपुरमा जारी क्षेत्रीय अधिवेशनबाट लामो रस्साकस्सीपछि सिंहको नाममा सहमति जुटाइएको हो।
क्षेत्रीय सभापतिका लागि सिंह र विजय गुप्ता आकांक्षी थिए। सहमति जुटाउन कांग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुर पक्षले समेत सक्रिय भूमिका खेलेको बताइएको छ। केही महिनाअघि देउवा निकट निलम्बित सभापति राजेश राय यादवको समूहबाट अलग हुँदै सिंह मन्सुरको पक्षमा खुलेका थिए।
कांग्रेसभित्र सम्भावना बोकेको युवा नेताका रूपमा चिनिएका सिंहलाई क्षेत्रीय नेतृत्वमा ल्याउन पार्टीको गगन थापा पक्षधर स्थानीय नेता–कार्यकर्तासमेत सकारात्मक देखिएका थिए।
सिंह सर्वसम्मत सभापति बनेसँगै अर्का आकांक्षी विजय गुप्ता क्षेत्र नं. ४(२) को सभापतिमा चयन भएका छन्। त्यस्तै क्षेत्र नं. ४(१) को सभापतिमा छविलाल शर्मा चयन भएका छन्।
क्षेत्रीय नेतृत्वको टुंगो लागेसँगै अब केन्द्रीय महाधिवेशन प्रतिनिधि, प्रदेश अधिवेशन प्रतिनिधि तथा क्षेत्रीय समितिका अन्य पदाधिकारी चयनका लागि कार्यदल गठन गरिएको छ। कार्यदलमा क्षेत्रीय सभापति सिंह, क्षेत्र नं. ४(२) का सभापति गुप्ता, युवा नेतृ मेघा शाही र युवा नेता नवराज त्रिपाठी रहेका छन्।
कार्यदलले गर्ने निर्णयलाई स्वीकार गर्दै अघि बढ्ने सहमति भएको कांग्रेस नेताहरूले बताएका छन्।