जितपुरमा कलवार समुदायको भव्य बलभद्र पूजा, हजारौँ श्रद्धालुको सहभागिता
मनाेज शाह जितपुर बारा असाेज ९ गते:
जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित कलवार कल्याण समितिको आयोजनामा कलवार समुदायको कुलदेवता बलभद्र भगवानको पूजा तथा भव्य शोभायात्रा सम्पन्न भएको छ।

करिब २ हजार जनसंख्या रहेको कलवार समुदायको सहभागितामा समितिको जग्गाबाट सुरु भएको शोभायात्रा पहाडीटोल हुँदै पुनः पूजा स्थलमा पुगेर सम्पन्न भएको थियो। शोभायात्रामा हजारौँ कलवार समुदायका सदस्य सहभागी भएका थिए।

पूजा समितिका संयोजक प्रभु गुप्ता कलवारले समुदायको सहयोग र सहभागिताले पूजा भव्य रूपमा सम्पन्न भएको बताए। दीपक गुप्ताले बलभद्र भगवानको पूजामा ठूलो संख्यामा सहभागी भएर श्रद्धालुले प्रसाद ग्रहण गरेको बताए।
कलवार कल्याण समितिका सल्लाहकार गणेशप्रसाद कलवारले युवाहरूको सक्रियताका कारण पूजा सभ्य र भव्य रूपमा सम्पन्न भएको बताए। उनले समितिको जग्गामा भवन निर्माणका लागि सबैको सहयोग आवश्यक रहेको बताए।

यस्तै, प्रियंका गुप्ताले आफ्नो समुदायको कुलदेवताको पूजामा सहभागी हुन पाउँदा खुसी लागेको बताइन्।
जीतपुरसिमरा–७ का वडाध्यक्ष सुनिलकुमार गुप्ताले बलभद्र भगवानको पूजाले सबैको कल्याण हुने विश्वास व्यक्त गरे। पूजामा देखिएको ठूलो जनसहभागिताले कलवार समुदायको एकता र धार्मिक आस्थालाई समेत झल्काएको छ।