निजगढ हाटबजार अस्तव्यस्त, व्यापारीको गुनासो—‘घाम लागे पनि भाग्नुपर्छ, पानी परे पनि’

निजगढ हाटबजार अस्तव्यस्त, व्यापारीको गुनासो—‘घाम लागे पनि भाग्नुपर्छ, पानी परे पनि’
मनाेज शाह जितपुर बारा असाेज ७ गते :

निजगढ नगरपालिका–स्थित हाटबजारमा पर्याप्त पूर्वाधार र व्यवस्थापन नहुँदा व्यापारी तथा सेवाग्राही समस्यामा परेका छन्। सडक छेउमै सञ्चालन भइरहेको हाटबजारमा घाम र वर्षाबाट जोगिने छानो, बाख्रा बाँध्ने व्यवस्थित ठाउँ तथा शौचालयको समेत अभाव रहेको व्यापारीहरूको गुनासो छ।


२०५२ सालदेखि खोसी–बोका व्यापार गर्दै आएका व्यापारी गोविन्दप्रसाद तिमिल्सिनाले बजार अस्तव्यस्त हुँदा आफूहरू लामो समयदेखि समस्यामा परेको बताए। उनका अनुसार वर्षा हुँदा सामान तथा बाख्रा जोगाउन भाग्नुपर्ने र घाम लाग्दा पनि सुरक्षित ठाउँ खोज्नुपर्ने अवस्था छ। निजगढ हाटबजारमा रौतहट, सर्लाहीदेखि हेटौँडासम्मका व्यापारी तथा ग्राहक किनमेलका लागि आउने गरेको उनले बताए।


अर्का व्यापारी प्रकाश चौलागाईंले पनि बजारमा बाख्रा बाँध्ने व्यवस्थित स्थान र छानो नहुँदा समस्या झेल्नुपरेको बताए। “घाम लाग्दा एउटा साइडमा जानुपर्छ, पानी पर्दा अर्को साइडमा। जता गए पनि विवाद हुन्छ,” उनले भने। उनका अनुसार बजारमा शौचालयसमेत छैन। व्यापारीहरूले एउटा बाख्राको ५० रुपैयाँसम्म शुल्क तिर्ने गरेको पनि उनले बताए।
यता, निजगढ नगरपालिका सूचना अधिकारी जीवन गौतमले नगरपालिकाले हाटबजारका लागि सडकबाट करिब ५० मिटरभित्र सेड निर्माण गरिदिएको दाबी गरे। तर व्यापारीहरूले उक्त सेडमा बाख्रा नराखी सडककै छेउमा व्यापार गर्ने गरेको उनको भनाइ छ।


सडकको छेउमै अव्यवस्थित रूपमा सञ्चालन भइरहेको हाटबजारले व्यापारीसँगै सर्वसाधारणलाई समेत आवतजावतमा समस्या पारिरहेको देखिन्छ। नगरपालिकाले पूर्वाधार बनाएर दिएको दाबी गरे पनि व्यापारीले त्यसको प्रयोग नगरेको र बजार व्यवस्थापनमै कमजोरी रहेको विषयमा दुवै पक्षबीच फरक धारणा देखिएको छ।