जितपुरसिमरा कांग्रेस नगर सभापतिमा शेखर भण्डारीको दाबी, युवा पुस्तामा बढ्दै चर्चा
मनाेज शाह जितपुर बारा असाेज ६ गते:
नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा जीतपुरसिमरा उपमहानगरपालिकाको नगर सभापतिका लागि शेखर भण्डारीले आफ्नो आकांक्षा प्रस्तुत गरेका छन्।
कांग्रेसका विभिन्न निर्वाचन तथा पार्टी गतिविधिमा निरन्तर सक्रिय रहँदै आएका भण्डारीले आफूलाई नगर सभापतिको आकांक्षीका रूपमा अघि सारेका हुन्। पार्टीका हरेक मोडमा इमान्दारीपूर्वक काम गर्दै आएका नेताका रूपमा भण्डारीको चर्चा हुने गरेको उनका समर्थकहरूको दाबी छ।
पछिल्लो समय सामाजिक सञ्जालमा समेत ‘नगर सभापतिमा शेखर भण्डारी हुनुपर्छ’ भन्ने धारणा सार्वजनिक हुन थालेको देखिन्छ। विशेषगरी युवा कार्यकर्ता तथा पार्टी समर्थकबीच उनको नामलाई लिएर चर्चा बढेको छ।
पार्टी संगठनलाई बलियो बनाउने, युवालाई नेतृत्वमा जोड्ने र कांग्रेसको स्थानीय संगठनलाई थप सक्रिय बनाउने लक्ष्यसहित आफू नगर सभापतिको दौडमा रहेको भण्डारी निकट स्रोतले जनाएको छ।
अब जीतपुरसिमरा कांग्रेसको नगर नेतृत्वका लागि हुने प्रतिस्पर्धामा भण्डारीको दाबीले कस्तो प्रभाव पार्छ भन्ने विषय चासोको केन्द्रमा परेको छ।