एमाले बैठकमा ओलीको कडा प्रतिवाद : ‘पुनर्गठनको नारा नेतृत्व विस्थापनको प्रपञ्च’
काठमाडौं असाेज ६ गते:
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र उठिरहेको पुनर्गठनको बहसलाई नेतृत्व विस्थापन गर्ने प्रपञ्चको संज्ञा दिएका छन्। केन्द्रीय कमिटी बैठकमा ८७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गर्दै ओलीले आफू पदको निजी प्रतिष्ठाका लागि नभई पार्टीको मनोबल, संगठनात्मक स्थिरता र सुरक्षित राजनीतिक संक्रमणका लागि नेतृत्वमा रहेको दाबी गरेका हुन्।
निर्वाचनमा पराजयपछि पार्टीभित्र समीक्षा र सुधार आवश्यक भए पनि त्यसलाई नेतृत्व हटाउने अभियान बनाउन नहुने उनको भनाइ छ। ओलीले आफू जिम्मेवारीबाट भाग्ने नभई संकटका बीच पार्टीलाई पुनर्निर्माण गर्दै अघि बढाउने पक्षमा रहेको बताएका छन्।
उनले पार्टीका तत्कालका दुई प्रमुख कार्यभारका रूपमा लोकतन्त्र तथा संविधानको रक्षा र आगामी स्थानीय तहको निर्वाचनको तयारी अघि सारेका छन्। साथै, युवालाई जिम्मेवारी दिनुपर्नेमा जोड दिँदै अनुभव र नयाँ पुस्ताको ऊर्जालाई जोडेर नेतृत्व विकास गर्नुपर्ने धारणा राखेका छन्।
बैठक सञ्चालनको विषयमा नेता कृष्णगोपाल श्रेष्ठले आपत्ति जनाएका थिए भने कर्ण थापाले छुट्टै प्रस्ताव पेस गर्न खोजेका थिए। बैठकमा ओलीको प्रतिवेदनमाथि छलफल जारी रहनेछ।