भोटेकोशी बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख, नेपाल प्रहरीले गर्यो ठूलो राहत घोषणा
स्पर्श खबर जितपुर बारा भदौ १८ गते:
भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी दिवंगत भएका प्रत्येक प्रहरी कर्मचारीका परिवारलाई जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय नेपाल प्रहरीले गरेको छ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बुधबार बसेको नेपाल प्रहरी प्रधान कार्यालयको बैठकले बाढीपीडित प्रहरी परिवारका लागि राहत तथा सहयोगसम्बन्धी महत्वपूर्ण निर्णय गरेको हो।
बैठकले दिवंगत प्रहरी कर्मचारीका परिवारलाई तत्काल राहत उपलब्ध गराउने, प्रभावित परिवारको शैक्षिक तथा आर्थिक व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको जनाएको छ।
यसअघि नेपाल प्रहरीले प्राकृतिक प्रकोप उद्धार कोषमा ४० करोड रुपैयाँ दिने निर्णय गरेको थियो।
यस्तै, दिवंगत प्रहरी कर्मचारीका परिवारजनलाई विशेष सापटी तथा ऋण रकम मिनाहा गर्ने र उनीहरूका परिवारबाट इच्छुक एकजनालाई रोजगारीका लागि आवश्यक पहल गर्ने निर्णयसमेत गरिएको छ।
बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारप्रति नेपाल प्रहरीको ठूलो राहत प्याकेज घोषणा भएपछि प्रभावित परिवारलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।