रसुवागढीमा चालक सुबोध पटेल बेपत्ता, श्रीमतीको भावुक अपिल:मेरो श्रीमानलाई खोजेर हाम्रो अगाडि ल्याइदिनुहोस्
मनाेज शाह जितपुर बारा भदौ १५ गते:
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१८ का एक युवा सुबोध पटेल रसुवागढीमा गाडी लिएर गएको क्रममा सम्पर्कविहीन भएका छन्। बाढीपछिको परिस्थितिमा उनीसँग परिवारको सम्पर्क टुटेपछि घरपरिवार गम्भीर चिन्तामा परेको छ।

सुबोधका बुवा रामजी पटेल का अनुसार छोरासँग बिहान करिब ९ बजेसम्म फोनमा कुराकानी भएको थियो। त्यसपछि भने अहिलेसम्म कुनै सम्पर्क हुन नसकेको उनले बताए।
मेरो छोरासँग ९ बजेसम्म कुरा भएको थियो, त्यसपछि अहिलेसम्म सम्पर्क हुन सकेको छैन। कहाँ छ, कस्तो अवस्थामा छ भन्ने कुनै जानकारी छैन, बुवा रामजी पटेलले भावुक हुँदै बताए।

यता, सुबोधकी श्रीमती सुमित्रा राउत ले पनि श्रीमान् सम्पर्कविहीन भएपछि आफू अत्यन्त पीडामा रहेको बताएकी छन्। उनका दुई छोरा रहेका छन्।
मेरो श्रीमान् अहिलेसम्म सम्पर्कमा हुनुहुन्न। मेरा दुईटा छोरा छन्, म बिचल्लीमा छु, दुःखमा छु। मेरो श्रीमान् जहाँ हुनुहुन्छ, उहाँलाई खोजी गरी छिटोभन्दा छिटो हाम्रो अगाडि ल्याइदिन सरकारसँग हार्दिक अपिल गर्छु,” सुमित्राले भनिन्।
रसुवामा आएको विनाशकारी बाढीपछि बारा जिल्लाका विभिन्न व्यक्ति सम्पर्कविहीन भएको विवरण सार्वजनिक हुँदै आएको छ। यसअघि प्रकाशित विवरणअनुसार रसुवा पुगेका बाराका व्यक्तिहरूको खोजीका लागि प्रशासनले सुरक्षा निकायसँग समन्वय गरिरहेको जनाएको थियो।
यसैबीच, जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार झासँग गरिएको कुराकानीअनुसार, बारा जिल्लाका २९ जना सम्पर्कविहीन रहेको र तीमध्ये ३ जना सम्पर्कमा आइसकेका छन्।
सम्पर्कविहीन सुबोध पटेलको खोजीका लागि परिवारले सरकार तथा सम्बन्धित निकायसँग खोजी र उद्धार कार्य तीव्र बनाउन अपिल गरेको छ।
परिवारको एउटै आशा छ—सुबोध पटेल सकुशल फर्किऊन् र आफ्ना दुई साना छोरासहित परिवारको अगाडि उभिऊन्।