जन्मदिनको खुसी थाती राख्दै उद्योगी शम्भुनाथ झाले दिए बाढीपीडितलाई ११ लाख

जन्मदिनको खुसी थाती राख्दै उद्योगी शम्भुनाथ झाले दिए बाढीपीडितलाई ११ लाख
मनाेज शाह जितपुर बारा भदौ १४ गते:

नेपोभिट टायल्सका सञ्चालक एवं उद्योगी शम्भुनाथ झाले आफ्नो जन्मदिनको अवसरमा रसुवाका बाढीपीडितका लागि ११ लाख रुपैयाँ सहयोग गरेका छन्।
झाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। देश प्राकृतिक विपत्तिको चपेटामा परिरहेका बेला बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले जन्मदिनको अवसरलाई सामाजिक सेवासँग जोडिएको उनकी पत्नी विभा झाले बताइन्।
विभाले सामाजिक सञ्जालमार्फत देश विपत्तिमा रहेका बेला व्यक्तिगत उत्सवभन्दा पीडित नागरिकको साथमा उभिनु महत्वपूर्ण रहेको उल्लेख गरेकी छन्। बाढीका कारण धेरै परिवार विस्थापित भएको र जनजीवन अस्तव्यस्त बनेको अवस्थामा सहयोगमार्फत पीडितको घाउमा मलम लगाउने प्रयास गरिएको उनको भनाइ छ।
उद्योगी झाको यो सहयोगको उद्योगी, व्यवसायी तथा स्थानीयले प्रशंसा गरेका छन्। व्यक्तिगत उत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै विपत्तिमा परेका नागरिकका लागि ११ लाख रुपैयाँ सहयोग गर्नु सकारात्मक उदाहरण भएको स्थानीयको भनाइ छ।
झाले बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–८ मा उद्योग स्थापना गरी नेपोभिट टायल्स उत्पादन गर्दै आएका छन्। देश संकटमा रहेका बेला उद्योगी झाले देखाएको यो सामाजिक उत्तरदायित्वले अन्य व्यवसायीलाई समेत पीडितको सहयोगमा अघि बढ्न प्रेरणा दिएको छ।