२२ वर्षदेखि शून्य निर्वाचन : जगदम्बा स्टिल्स मजदुर युनियनमा फेरि सर्वसम्मत नेतृत्व

२२ वर्षदेखि शून्य निर्वाचन : जगदम्बा स्टिल्स मजदुर युनियनमा फेरि सर्वसम्मत नेतृत्व
स्पर्श खबर जितपुर बारा भदौ १३ गते:

उद्योग–व्यवस्थापनबीचको विवाद, ट्रेड युनियनभित्रको गुटबन्दी र नेतृत्वका लागि हुने प्रतिस्पर्धाले मजदुर आन्दोलन कमजोर बन्दै गएको अवस्थामा जगदम्बा स्टिल्स लिमिटेडको मजदुर युनियनले भने फरक र अनुकरणीय उदाहरण प्रस्तुत गरेको छ।


जितपुर सिमरा उपमहानगरपालिका–४ स्थित देवाश्रममा शनिबार सम्पन्न ११औँ अधिवेशनले अध्यक्षमा दीपक बि.क. र सचिवमा दीपक कार्कीसहित सम्पूर्ण कार्यसमितिलाई पुनः सर्वसम्मत निर्वाचित गरेको छ।
दुई–दुई वर्षमा अधिवेशन हुने व्यवस्था भए पनि स्थापना भएको २२ वर्षमा युनियनको नेतृत्व चयनका लागि एकपटक पनि मतदान गर्नुपरेको छैन। लगातार ११औँ अधिवेशनसम्म सम्पूर्ण कार्यसमिति सर्वसम्मत चयन हुनु नेपाली औद्योगिक तथा श्रम क्षेत्रमा दुर्लभ उदाहरण बनेको छ।


गुटबन्दी होइन, सहमति र एकता
कतिपय उद्योगमा ट्रेड युनियनभित्रको आन्तरिक विवाद र गुटबन्दीले मजदुर आन्दोलनसँगै उत्पादनसमेत प्रभावित हुने गरेको अवस्थामा जगदम्बा स्टिल्स मजदुर युनियनले भने साझा हित, आपसी विश्वास र संस्थागत एकतालाई प्राथमिकता दिँदै आएको जनाएको छ।
अधिवेशनका सहभागीहरूले २२ वर्षसम्म निरन्तर सर्वसम्मत नेतृत्व चयन हुनु केवल युनियनको उपलब्धि नभई जिम्मेवार ट्रेड युनियन अभ्यासको नमुना भएको बताएका छन्।


नगर प्रमुख पौडेल : मजदुर आन्दोलन मर्यादित र जिम्मेवार हुनुपर्छ
अधिवेशनमा जितपुर सिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो।
सम्बोधनका क्रममा पौडेलले उद्योगको विकास र मजदुरको हकहित एकअर्काका परिपूरक रहेको बताउँदै ट्रेड युनियनलाई अनुशासित, मर्यादित र जिम्मेवार ढंगले अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
उहाँले मजदुरको अधिकार, रोजगारीको सुरक्षा, श्रमको सम्मान र सामाजिक सुरक्षासँगै उद्योगको उत्पादन र विकासलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।
मजदुर र व्यवस्थापनबीचको सम्बन्ध संघर्ष र टकरावमा मात्र सीमित नभई संवाद, सहकार्य र समझदारीबाट बलियो बनाउनुपर्ने उहाँको भनाइ थियो।
अधिकारसँगै उद्योगको समृद्धि
कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सचिव अर्जुन चिमरिया, अखिल नेपाल औद्योगिक मजदुर संघका केन्द्रीय अध्यक्ष बेनीप्रसाद तिमल्सिना, अखिल नेपाल औद्योगिक महासंघ बाराका अध्यक्ष डि.बी. थापा तथा जितपुर सिमरा–२ का अध्यक्ष धनबहादुर श्रेष्ठ (डि.बी.) लगायतको उपस्थिति थियो।
वक्ताहरूले ट्रेड युनियनप्रति देखिने नकारात्मक धारणा अन्त्य गर्दै मजदुरको अधिकार संरक्षण गर्ने जिम्मेवार र अनुशासित संस्थाका रूपमा युनियनलाई स्थापित गर्नुपर्नेमा जोड दिए।
नेतृत्वप्रति मजदुरको विश्वास
पुनः निर्वाचित अध्यक्ष दीपक बि.क. र सचिव दीपक कार्कीले मजदुरको हकहित, कार्यस्थल सुरक्षा, रोजगारी संरक्षण र उद्योगको समृद्धिलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँहरूले लगातार ११औँ पटक सम्पूर्ण कार्यसमिति सर्वसम्मत चयन हुनु मजदुरको नेतृत्वप्रतिको विश्वास र संगठनभित्रको एकताको परिणाम भएको बताउनुभयो।
डाबर नेपाल, हुलास स्टिल्सलगायत विभिन्न औद्योगिक प्रतिष्ठानका मजदुर युनियनका प्रतिनिधिको समेत सहभागिता रहेको अधिवेशनले ‘मजदुरको अधिकार र उद्योगको समृद्धि विरोधी होइनन्, परिपूरक हुन्’ भन्ने सन्देश दिएको छ।
२२ वर्ष, ११ अधिवेशन र शून्य निर्वाचन—जगदम्बा स्टिल्स मजदुर युनियनको यो अभ्यास नेपाली औद्योगिक क्षेत्रमा सहमति, एकता र जिम्मेवार श्रम सम्बन्धको कडा उदाहरण बनेको छ।