रक्षाबन्धनमा दाजुको बाटो हेर्दै चार बहिनी, बाढीले खोस्यो सुदीपको खबर
स्पर्श खबर जितपुर बारा भदौ ११ गते:
रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत कलैया उपमहानगरपालिका–२, दोहोरीका सुदीप कुमार मण्डल भीषण बाढी तथा पहिरोपछि बेपत्ता भएका छन्। उनी सम्पर्कविहीन भएपछि दोहोरी गाउँ शोकमा डुबेको छ भने परिवारजन दिनरात उनको खोजी र उद्धारको प्रतीक्षामा छन्।

सुदीपका बुवा बिकाउ मण्डलका अनुसार बाढी आउनुभन्दा करिब दुई दिनअघि छोरासँग फोनमा कुराकानी भएको थियो। रक्षाबन्धन नजिकिँदै गर्दा उनले छोरालाई घर फर्किन आग्रह गरेका थिए।
“तिम्रा दिदीबहिनीहरू सबै घर आइसकेका छन्, रक्षाबन्धन पनि छ। एक दिन अगाडि नै घर आऊ,” बुवाले छोरालाई भनेका थिए। छोराले पनि “हुन्छ बुवा, आमा–बुवा आउँछु” भनेर जवाफ दिएको बिकाउले भावुक हुँदै सुनाए। तर त्यसपछि आएको भीषण बाढी र पहिरोले सुदीपको जीवनको खबर नै खोसिदिएको छ।

सुदीप माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा २१६ पावरतर्फ कार्यरत रहेको परिवारले जनाएको छ। बाढीपछि उनीसँग सम्पर्क हुन नसकेको र अहिलेसम्म उनको अवस्था अज्ञात रहेको परिवारको भनाइ छ।
चार दिदीबहिनीमध्येकी उनकी कान्छी बहिनी रञ्जुकुमारी रक्षाबन्धनका लागि घर फर्किए पनि दाजु नफर्किएपछि भावुक बनेकी छन्।
“हामी चारजना दिदीबहिनी छौँ। हाम्रो एकजना दाजु हुनुहुन्छ। हामी रक्षाबन्धनका लागि घर आइसकेका छौँ, तर दाजु अहिले बेपत्ता हुनुहुन्छ। हामी धेरै दुःख र पीडामा छौँ। सरकारसँग मेरो दाजुलाई छिटोभन्दा छिटो खोजी तथा उद्धार गरिदिन अनुरोध गर्छौँ,” उनले रुँदै भनिन्।

सुदीपको परिवारमा उनी घरका एकमात्र जेठा छोरा तथा मुख्य कमाउने सदस्य रहेको परिवारजन बताउँछन्। बुहारीले पनि घरमा कमाउने अर्को व्यक्ति नभएको भन्दै सुदीपको खोजीका लागि तत्काल प्रभावकारी पहल गर्न सरकारसँग आग्रह गरेकी छन्।
“घरको एउटै जेठो छोरा हो। चारजना दिदीबहिनीको बीचमा एकजना दाजु हुनुहुन्छ। घरमा कमाउने मान्छे कोही छैन। उहाँ बेपत्ता भएपछि हामी सबैजना खोजतलासमै छौँ,” उनले आँसु झार्दै भनिन्।
यता, दोहोरीका स्थानीय बासिन्दाहरू पनि सुदीपको अवस्थाप्रति चिन्तित छन्। स्थानीयका अनुसार सुदीप मिलनसार, मेहनती र राम्रो युवा थिए। उनको बेपत्ताको खबरले सिंगो गाउँ नै स्तब्ध बनेको छ।
सुदीपको घरको अवस्था समेत अत्यन्तै कमजोर रहेको देखिन्छ। फुसको घरमा बस्दै आएको उनको परिवार अहिले छोराको खोजीमा सरकार र उद्धार टोलीको बाटो हेरेर बसेको छ। घरमा रक्षाबन्धनको माहोल हुनुपर्ने बेला अहिले सन्नाटा छाएको छ।
परिवारको एउटै माग छ—सुदीपलाई जीवितै उद्धार गर्ने सम्भावना रहेसम्म खोजी अभियान नरोकियोस्। रक्षाबन्धनमा दाजुको हातमा राखी बाँध्ने आशामा बसेका चार बहिनीको आँखामा अहिले आँसु मात्रै छन्।
“सरकार ! हाम्रो दाजुलाई खोजिदिनुस्, हामीलाई हाम्रो सुदीप चाहिन्छ।”