पैसा होइन, जनताको ज्यान ठूलो : डा. रविन्द्रकुमार सिंहको निःशुल्क स्वास्थ्य सेवा
स्पर्श खबर जितपुर बारा भदौ ९ गते:
आर्थिक अभावका कारण सामान्य स्वास्थ्य जाँचसमेत गराउन नसक्ने स्थानीय नागरिकलाई लक्षित गर्दै डा. रविन्द्रकुमार सिंहले आफ्नै घरबाट निःशुल्क स्वास्थ्य जाँच सेवा सञ्चालन गर्दै आएका छन्।

जितपुर, परसुवा, टेढा, सलकपुरलगायत आसपासका भेगका नागरिकलाई बिहान ८ बजेदेखि ११ बजेसम्म नियमित रूपमा निःशुल्क चेकजाँच गर्दै आएको स्थानीय राजेश शर्माले बताए।
डा. सिंहका अनुसार उपचार तथा स्वास्थ्य जाँच सबैका लागि सहज हुनुपर्छ। “सबै थोक पैसा नै होइन, मान्छेको ज्यान बचाउनु नै ठूलो कुरा हो,” उनले भने, “मेरो वरिपरिका जनताले आर्थिक अभावकै कारण स्वास्थ्य जाँचबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले निःशुल्क चेकजाँच गर्दै आएको हुँ।”
उनले अहिलेको अवस्थामा विभिन्न क्लिनिकमा सामान्य स्वास्थ्य जाँच गराउँदासमेत शुल्क लाग्ने भएकाले आर्थिक रूपमा कमजोर नागरिकलाई थप समस्या हुने गरेको बताए। “कतिपय मानिससँग चेकजाँच गराउने पैसा हुँदैन। त्यसैले आफ्नो क्षेत्रका जनताका लागि सकेसम्म निःशुल्क स्वास्थ्य सेवा दिने मेरो उद्देश्य हो,” डा. सिंहले बताए।
स्थानीयवासीले डा. सिंहको सेवाको प्रशंसा गर्दै उनलाई समाजका लागि उदाहरणीय व्यक्ति भएको बताएका छन्। स्थानीय हरि पटेलले भने, “यस्ता मानिसलाई समाजमा भगवानको रूपमा हेर्न सकिन्छ। राति होस् वा दिउँसो, स्वास्थ्य समस्या लिएर मानिस पुगेमा उहाँले सकेसम्म चेकजाँच गरिदिनुहुन्छ।”
स्थानीयका अनुसार आर्थिक अवस्था कमजोर भएका नागरिकका लागि डा. सिंहको निःशुल्क स्वास्थ्य जाँच सेवा ठूलो राहत बनेको छ। जनताको स्वास्थ्य र जीवनलाई प्राथमिकता दिँदै निरन्तर सेवा गरिरहेका डा. सिंहको पहलले समाजमा मानवीय सेवाको सकारात्मक उदाहरण प्रस्तुत गरेको स्थानीयहरूको भनाइ छ।