गरिमा चौधरी हत्या प्रकरण : गृहमन्त्रीलाई २४ घण्टे अल्टिमेटम, ‘नआए आन्दोलन चर्काउँछौँ’

गरिमा चौधरी हत्या प्रकरण : गृहमन्त्रीलाई २४ घण्टे अल्टिमेटम, ‘नआए आन्दोलन चर्काउँछौँ’
स्पर्श खबर जितपुर बारा भदौ ५ गते:

तीन वर्षीया बालिका गरिमा चौधरीको नृशंस हत्या घटनालाई लिएर मधेश जागरण अभियानले गृहमन्त्री सुधन गुरुङलाई २४ घण्टे अल्टिमेटम दिएको छ।
अभियानका संयोजक कृष्ण मोहन सहनीले जारी गरेको विज्ञप्तिमार्फत गृहमन्त्री गुरुङलाई घटनास्थलमै उपस्थित भएर पीडित परिवारसँग प्रत्यक्ष संवाद गर्न माग गरिएको हो।


गरिमाको हत्याले मधेश प्रदेश नै शोक र आक्रोशमा रहेको भन्दै अभियानले सरकार पीडित परिवारलाई न्याय दिलाउने विषयमा गम्भीर नदेखिएको आरोप लगाएको छ। घटनाको सत्यतथ्य निष्पक्ष रूपमा छानबिन गरी दोषीलाई खोजेर कडा कारबाही गर्न तथा पीडित परिवारलाई सुरक्षा, सम्मान र न्यायको सुनिश्चितता गर्न अभियानले सरकारसँग माग गरेको छ।
अभियानले २४ घण्टाभित्र गृहमन्त्री घटनास्थलमा उपस्थित नभए त्यसलाई सरकारको गैरजिम्मेवारी र पीडितप्रतिको असंवेदनशीलताको संकेतका रूपमा लिने चेतावनी दिएको छ। त्यसपछि चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम घोषणा गर्ने पनि अभियानले जनाएको छ।
‘न्यायमा ढिलाइ गर्नु अन्याय हो । न्याय नदिएसम्म मधेश जागरण अभियान चुप लागेर बस्ने छैन,’ विज्ञप्तिमा भनिएको छ।
गरिमा हत्या प्रकरणमा तत्काल न्यायिक प्रक्रिया अघि बढाउनुपर्ने माग गर्दै अभियानले सरकारलाई अब आश्वासनमा होइन, ठोस कदम चालेर जवाफ दिन दबाब दिएको छ।