रामवनका किसानको पीडा: उत्पादन धेरै, समस्या झन् गहिरो

रामवनका किसानको पीडा: उत्पादन धेरै, समस्या झन् गहिरो
स्पर्श खबर जितपुर बारा १३ गते

सर्लाहीको रामवन क्षेत्र नं. ४ मा पुगेर स्थानीय किसानहरूसँग प्रत्यक्ष भेटघाट तथा छलफलपछि माननीय सरिता महतोले कृषि क्षेत्रमा देखिएका गम्भीर समस्याहरू सार्वजनिक गर्नुभएको छ। उत्कृष्ट तरकारी खेतीका लागि परिचित यस क्षेत्रमा वार्षिक ४०० क्विन्टलभन्दा बढी भिन्डी उत्पादन हुने भए पनि किसानहरू अनेकौं चुनौतीसँग जुधिरहेका छन्।
किसानहरूले मुख्यतः खाद्य मलको अभाव, प्रभावकारी सिँचाइको कमी तथा आवश्यक तालिम नपाएको गुनासो गरेका छन्। उत्पादन राम्रो हुँदाहुँदै पनि व्यवस्थित बजारीकरण नहुँदा उनीहरूले आफ्नो उपजको उचित मूल्यसमेत पाउन नसकेको बताएका छन्।
माननीय महतोले सामाजिक सञ्जालमार्फत सरकारको ध्यानाकर्षण गराउँदै देशमा अझै पनि ठूलो रकम तरकारी आयातमा खर्च भइरहेको अवस्थामा स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याउनुभएको छ। उहाँले किसानमैत्री नीति लागू गर्न ढिला गर्न नहुने बताउनुभयो।
समाधानका लागि उहाँले उत्पादनसँगै प्रभावकारी बजारीकरण, किसानलाई सिधै बजारसँग जोड्ने व्यवस्था, मल–सिँचाइ–तालिममा सहज पहुँच तथा स्रोत–साधनको न्यायपूर्ण वितरण आवश्यक रहेको उल्लेख गर्नुभएको छ।
उहाँका अनुसार किसानलाई उचित मूल्य र सम्मान सुनिश्चित गर्न सके मात्रै कृषि क्षेत्र मजबुत बन्ने र देश आत्मनिर्भरतातर्फ अघि बढ्नेछ।