गोलबजारमा करातेको रोमाञ्च: आयोजक टिम च्याम्पियन

गोलबजारमा करातेको रोमाञ्च: आयोजक टिम च्याम्पियन
मनोज शाह जितपुर बारा बैशाख ७ गते:

गोलबजार नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न पाँचौं गोलबजार उप–मेयर प्रदेश स्तरीय कराते प्रतियोगिता २०८३ को उपाधि आयोजक टिमले जितेको छ। वैशाख ४ गतेदेखि सुरु भएको प्रतियोगितामा प्रदेशका ८ टिम र आयोजकका २ टिमसहित कुल १० टिमको सहभागिता रहेको थियो।
मधेस प्रदेश सभा सदस्य मनोज कुमार सिंहको प्रमुख आतिथ्यमा सम्पन्न पुरस्कार वितरण समारोहमा नगरप्रमुख श्याम कुमार श्रेष्ठ, मधेस खेलकुद परिषद्का सदस्य प्रभुनारायण शिवाकोटी र निशेष श्रेष्ठ, वडा नं. ३ का अध्यक्ष धनप्रसाद मौक्तान, जिल्ला खेलकुद विकास समिति सिरहाका अध्यक्ष श्रवण शाही ठकुरीलगायतको उपस्थिति रहेको थियो।
नगर उप–प्रमुख मान्ती साहको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा आयोजक टिमले ११ स्वर्ण पदक जित्दै प्रथम स्थान हासिल गर्‍यो। सिरहाले ५ स्वर्णसहित दोस्रो र महोत्तरीले ४ स्वर्ण जित्दै तेस्रो स्थान सुरक्षित गर्‍यो।
प्रतियोगितामा आयोजकका राज मुखियाले उदयमान पुरुष खेलाडीको उपाधिसँगै माउन्टेन बाइक जिते भने रिया श्रेष्ठ उदयमान महिला खेलाडी घोषित भइन्। उत्कृष्ट पुरुष खेलाडी सप्तरीका रोहन मेहत्तर र उत्कृष्ट महिला खेलाडी आयोजककी स्मारिका मगर घोषित भए। उत्कृष्ट निर्णायकको उपाधि रौतहटका अमित भुलोन र उत्कृष्ट प्रशिक्षकको उपाधि आयोजकका नरबहादुर थापाले प्राप्त गरे।
सिनियर तथा जुनियर काता र कुमिते विधामा भएको प्रतिस्पर्धामा विभिन्न तौल समूहमा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेका थिए। प्रतियोगितामा ३३० भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो।
जनता नमुना माध्यमिक विद्यालय, चन्द्रलालपुर–८, गोलबजारको खेलमैदानमा सम्पन्न प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।