बारामा नयाँ प्र.जि.अ. को आगमनसँगै सरकारी कार्यमा बढ्यो तीव्रता : २५ दिनमै राहदानी पाइने
मनोज शाह, जीतपुर बारा, फाल्गुन २९ गते
बारा जिल्लामा नयाँ प्र.जि.अ. आउनुभएको लगभग २ महिना भएको छ । बाराका प्र.जि.अ. शशिधर घिमिरेको आगमनसँगै यस कार्यालयले दिने सेवामा तीव्रता आएको छ । प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले यति छोटो समयमै आफ्नो मातहतको कार्यालयले आम जनताहरुलाई उपलब्ध गराउने सेवा सुविधाको गति चुस्तदुरुस्त बनाएका छन् । उनको कार्यशैलीबाट आम नागरिक निकै सन्तुष्ट छन् ।
विगतमा बारा जिल्लाबाट राहदानी बनाउँदा उक्त राहदानी लगभग ४५ दिनपछि मात्रै प्राप्त हुन्थ्यो तर अहिले २५ दिनभित्रै राहदानी उपलब्ध हुने गरेको कुरा राहदानी वितरण शाखा, कलैयाका कम्प्यूटर अपरेटर सनी कुमार गुप्ताले स्पर्श खबरलाई जानकारी दिएका छन् । उनका अनुसार वि.सं. २०८० फाल्गुन महिनामा मात्रै राहदानी बनाउन आवेदन दिएका मध्ये जम्मा ११४२ जनाको राहदानी तयार भइसकेको छ । जसमध्ये ५४३ जना पुरुष तथा १०९ जना महिला गरी जम्मा ६५२ जनाले आआफ्नो राहदानी यस कार्यालयबाट संकलन गरी लगिसकेका छन् भने ४९० ओटा राहदानी अझैसम्म पनि सम्बन्धित व्यक्तिहरुले संकलन गर्न बाँकी रहेको सनी कुमार गुप्ताले जानकारी दिए ।
राहदानीका लागि आवेदन दिएकाहरुमध्ये तयारी अवस्थामा रहेका तर संकलन गर्न बाँकी रहेका राहदानी सम्बन्धित नागरिकले यस कार्यालयबाट समयमै संकलन गर्न समेत गुप्ताले स्पर्श खबरमार्फत् आमजनतालाई आग्रह गरेका छन् ।