हिन्दुधर्म र संस्कृतिको जगेर्नामा जुटे युवा : शिवरात्री पर्वको महत्त्व र गरिमा जोगाउनुपर्ने धारणा
मनाेज शाह, जितपुर बारा, फागुन २४ गते
जितपुरसिमरा उपमहानगरपालिकाको वडा नं. १४ रजघट्टाका बुद्धिजीवी, युवावर्ग, आमा समूह लगायतका सम्पूर्ण स्थानीय बासिन्दाहरुको विशेष सहभागितामा हिन्दुधर्म र संस्कृतिको जगेर्ना गर्ने महान् अभियान सुरु भएको छ ।
हिन्दु धर्मावलम्बीका नयाँ युवा पुस्ताले आफ्नो धर्म संस्कृति, रीतिरिवाज बिर्संदै गएको तथा युगौंदेखिको हिन्दु परम्परा, रीतिरिवाज, संस्कार- संस्कृति आदि लोप हुने अवस्थामा पुगेकोले आफ्नो धर्म संस्कृतिको रक्षा गर्ने उद्देश्यका साथ जितपुरसिमरा उपमहानगरपालिकाको वडा नं. १४ रजघट्टाका सम्पूर्ण हिन्दु धर्मावलम्बीहरु एकताबद्ध भएर लागिपरेका छन् ।
महाशिवरात्रीको महिमा र गरिमा जोगाउन फाल्गुन २५ गतेको महाशिवरात्री पर्व रजघट्टाको प्रसिद्ध शिव मन्दिरमा भव्यताका साथ मनाउने आफूहरुको योजना रहेको स्थानीय युवा प्रदीप रिजालले स्पर्श खबरलाई जानकारी दिएका छन् । अनुभवले खारिएका अग्रज वृद्ध अभिभावकहरुको मार्गनिर्देशनमा यसपालिको महाशिवरात्री पर्व अन्य वर्षभन्दा पृथक बनाउन युवावर्गले यस क्षेत्रभरि नै शिव भगवान अङ्कित झण्डा बडो आकर्षक ढङ्गले लगाएका छन् ।
प्रत्येक वर्ष महाशिवरात्री पर्वको अवसरमा रजघट्टामा लाग्ने मेलालाई यस वर्षदेखि अझै स्तरोन्नती गरी फरक ढङ्गले प्रस्तुत हुने जानकारी गराउँदै हिन्दु धर्म तथा शास्त्रले सिकाएअनुसार अगाडि बढ्दै सफलताको शिखरमा पुग्ने आफूहरुको लक्ष्य रहेको प्रदीप रिजालले जानकारी दिनुभयो ।
जितपुरसिमरा उपमहानगरपालिकाको वडा नं. १४ रजघट्टामा अवस्थित रामजानकी मन्दिरको पुरानो इतिहास रहेको र यो मन्दिर लगायत यस क्षेत्रमा रहेका सबै मठमन्दिरहरुको संरक्षण तथा विकासको लागि वडा कार्यालयले बजेटको लागि विशेष पहल गर्ने कुरा वडा नं. १४ का वडाध्यक्षले जानकारी दिनुभयो ।