सुर्ती लिन बजार गएकी किशोरी नग्न अवस्थामा मृत भेटिइन्

सेयर गर्नुहोस्

गुल्मी, कात्तिक १७-

गुल्मीमा खेतालालाई सुर्ती लिन बजार गएकी एक किशोरी नग्न अवस्थामा मृत भेटिएकी छन् । स्थानीयका अनुसार चन्द्रकोट गाउँपालिका–४ शान्तिपुर बजार नजिकैको झोलुङ्गे पुलमुनि कक्षा ९ मा अध्ययनरत १५ वर्षीय मनिषा चुँदालीको शव भेटिएको हो ।

बिहीवार दिउँसो ११ बजे धान स्याहार गर्ने खेतालालाई सुर्ती ल्याइदिन बजार गएको तर सम्पर्कमा नआएपछि परिवारले प्रहरीलाई खोजतलासीको लागि खबर गरेका थिए । किशोरीको हत्या भएको आशंका गरिएको छ ।

घटनास्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा टोली गएको छ । घटनाबारे थप जानकारी आएपछि विवरण उपलब्ध गराउने जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

मृतक किशोरीको परिवार बिगत केही समयदेखि शान्तिपुर बजारको श्रीलंका टोलमा बसोबास गर्दै आएको स्थानीयले बताए ।