बाराको सिमरामा ९औं राष्ट्रिय स्क्र्यावल च्याम्पियनशिप हुने

सेयर गर्नुहोस्

बारा, कार्तिक १५ गते ।

बारामा ९औं राष्ट्रिय स्क्र्यावल च्याम्पियनशिप हुने भएको छ । यही कार्तिक १७ र १८ गते जिल्लाको जीतपुरसिमरा उपमहानगरालिका वडा नम्बर २ सिमरा स्थित रहेको लोटस एकेडेमिमा प्रतियोगिता आयोजना हुने छ ।

शब्द संजालको रूपमा परिचित हुदै आएको स्क्र्यावल खेल देश व्यापिरूपमा चर्चा बटुल्दै आएको छ । पश्चिमाहरूले करिब ९० वर्ष अघिदेखिनै खेल्दै आएका यो खेल नेपालमा भने २०३० सालमा आइपुगेको तथ्य भेटिए पनि करिब १० वर्ष अघि देखि मात्र नेपालमा स्क्र्यावल खेल खेल्न र खेलाउन थालिएको हो ।

करिब ९ लाखको अनुमानित लागतमा आयोजना हुन लागेको ९औं राष्ट्रिय स्क्र्यावल च्याम्पियनशिपमा देशका २२ जिल्लाबाट १४० विद्यार्थीहरू सहभागी हुने छन् । कार्तिक १७ गते विधिवत् रूपमा प्रतियोगिताको औंपचारिक उद्घाटन गरेर १८ गते खेल हुने आयोजकले जनाएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको सहकार्य र लोटस एकेडेमीको आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा देशका विभिन्न संघ संस्था र सिमराका ९ स्कुलहरू पार्टनर रहेका छन् ।

सिमरामा आयोजना हुने ९औं राष्ट्रिय स्क्र्यावल च्याम्पियनशिपमा २० जना उत्कृष्ट हुने खेलाडीहरूले माघ ५ र ६ गते हुने वेस्पा रेटेड अन्तराष्ट्रिय स्क्र्यावल प्रतियोगितामा प्रतिनिधित्व गर्ने अवसर पाउने छन् ।