बारामा एक बोर्डिङ स्कुलका प्रधानाध्यापकमाथि गोली प्रहार

सेयर गर्नुहोस्

बारा,कात्तिक १३-

बाराको कलैयामा एक प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । बारा प्रहरीका अनुसार अज्ञात समूहद्वारा कलैया निवासी रुपेश स्वर्णकारमाथि बोर्डिङ नजिकै मदर्सा टोलमा २ राउण्ड गोली प्रहार भएको हो ।

स्वर्णकारको टाउको र छातीमा गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । गोली लागेका उनलाई उपचारका लागि एलएस न्यूरो अस्पताल लगिएको प्रहरीले जनाएको छ । अस्पताल स्रोतका अनुसार स्वर्णकारको अवस्था चिन्ताजनक छ ।

अन्दाजी ३५ वर्षीय स्वर्णकार कलैया ६ का बासिन्दा हुन् । स्वर्णकारले कलैयामा बाल एकता बोर्डिङ सञ्चालन गरेका छन् । घटनास्थलमा प्रहरी पुगेको र गोली प्रहार गर्ने अज्ञात समूहको खोजी भइरहेको बारा प्रहरी प्रमुख सुरेश काफ्लेले जनाए ।