काठमाडौें, असोज २३-
इजरायलमा घाइते भएका दाङका प्रविण डाँगीको अस्पतालमा शल्यक्रिया सफल भएको छ । शल्यक्रिया सफल भएको उनले अस्पतालको बेडबाटै भनेका छन् । एक भिडियोमा उनले यो सन्देश आफ्नो घरसम्म पुर्याइदिन भनेका छन् ।
मोबाइल नम्बरसमेत भन्दै डाँगीले भनेका छन्, ‘अपरेसन भर्खर भयो । सक्सेसफुल भयो भन्दिनु है ।’
दाङको दंगीशरण गाउँपालिका–३ हेकुली घर भई इजरायलमा रहेका २२ वर्षीय प्रविण डाँगीलाई खुट्टामा गोली लागेको थियो । गत भदौ २६ गते बीएस्सी एजी पढेर थप ११ महिने प्रयोगात्मक अध्ययनका लागि उनी इजरायल गएका थिए ।