बारा, असोज १३ गते ।
काठमाडौंको फ्रिडम फाईटर क्लब सिमरामा जारी तेस्रो अन्तर्राष्ट्रिय भेट्रान कप फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।सिमरा रंगशालामा शुक्रवार भएको दोस्रो सेमिफाइनल खेलमा युनिटी भेट्रान क्लब वीरगन्जलाई ७–२ ले पराजित गर्दै काठमाडौं फाइनलमा प्रवेश गरेको हो ।
काठमाडौंको जीतमा आर्मीका पूर्व खेलाडी समेत रहेका श्रेष्ठ एक्लैले पाँच गोल गरे । खेलको पहिलो हाफमा एक गोल गरेका श्रेष्ठलेचार गोल दोस्रो हाफमा थपेका थिए । काठमाडौंका लागि अन्य दुई गोल सरोज थापा र कलम बिष्टले गरेका हुन् ।
यता वीरगन्जका लागि सन्तोष राई र सुरज श्रेष्ठले समान एक-एक गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच श्रेष्ठ घोषित भए ।उनलाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष चयन गुरु» र वडा नं. ७ का अध्यक्ष सुनिल गुप्ताले म्यान अफ दिम्याचको पुरस्कार वितरण गरेका थिए ।
काठमाडौंले अब उपाधीका लागि आयोजक सिमरा भेट्रानसंग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनल खेलमा चाबहिल स्पोर्ट्सक्लबलाई ३–२ ले पराजित गर्दै आयोजक अन्तिम दुईमा प्रवेश गरिसकेको छ । दुई टिमबीचको फाइनल भिडन्त शनिवार दिँउसो चारबजेपछि सुरु हुनेछ ।
स्व. मञ्जुदेवी गुप्ताको स्मृतिमा आयोजित प्रतियोगिताको उपाधी विजेताले दुई लाख र उपविजेताले एक लाख नगद प्राप्त गर्नेछ ।जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग र जगदम्बा स्टील्स् प्रालीको मुख्य प्रायोजनमा आयोजित प्रतियोगितामा १२ टिमकोसहभागिता रहेको थियो ।