सरकारले जग्गा दिए महानगरले रंगशाला बनाउन पहल गर्छ: बालेन

सेयर गर्नुहोस्

काठमाडौं,भदौ १९-

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले जग्गा उपलब्ध गराए महानगरपालिकाले क्रिकेट स्टेडियम बनाउन पहल गर्ने बताएका छन् । एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल हेर्न श्रीलंका पुगेकका बालेनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै यस्तो बताएका हुन् ।

उनले लेखेका छन्, ‘नेपाल सरकारले काठमाण्डौ महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाण्डौ महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौं ।’

नेपाल र भारतको खेल भएको पाल्लेकेले रंगशाला त्रिभुवन विश्वविद्यालयको क्रिकेट स्टेडियम जस्तै भए पनि प्यारापिट र केही सुविधा भएको भन्दै इन्जिनियरसमेत रहेका उनले यस्तै सुविधको रंगशाला जग्गा बाहेक ८०-९० करोडमा बनाउन सकिने बताएका छन् ।

उनले लेखेका छन्, ‘यस्तो मात्रै रंगशाला र केहि ठुला खेलहरु हुने हो भने खेल विकास हुन सक्छ । र, एकै खेलबाटै करोडौं रकम आर्जन हुन सक्छ ।’ बालेन खेलाडी र तल्लो तहमामा सिकाइ सुविधाका लागि अबको ३ वर्षमा सकेसम्म हरेक वडामा एउटा एउटा बलिङ नेट राख्ने प्रबन्ध पहिले नै गरि सकेको स्मरण गराएका छन् ।