गोरखामा जन्ती बोकेको बोलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु

सेयर गर्नुहोस्

गोरखा, असार ८– गोरखामा जन्ती बोकेको बोलेरो जीप दुर्घटनामा हुँदा गएराति ५ जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्।

शहिद लखन गाउँपालिका–३ सिलिङ कोटगाउँबाट शहिद लखन गाउँपालिका–५ पोखरी डाँडा जन्ती फर्कने क्रममा सिलिङ र डाँडाबारीको बिचमा अमलडाँडा भन्ने ठाउँमा जीप दुर्घटना भएको गोरखा प्रहरीले जनाएको छ।

गोरखा प्रहरी प्रमुख अनुपम श्रेष्ठका अनुसार अहिलेसम्म ५ जनाको शव भेटिएको छ भने अन्यको खोजी जारी रहेको छ । मृत्यु हुनेमा ४ पुरुष र एक महिला रहेको उनको भनाइ छ। घटनास्थल मनकामना नजिकै पर्दछ ।

श्रेष्ठका अनुसार भीरमा अन्य पनि हताहति भएको हुनसक्ने भन्दै प्रहरीले खोजी गरिरहेको छ। २ जनाको सकुशल उद्दार गरिएको छ भने १२ जना घाइतेलाई उपचारको लागि तनहुँको खैरेनीमा पठाइएको छ। पानी पनि परिरहेको हुनाले उद्दार कार्य कठिन भएको प्रहरीले जनाएको छ।

अहिले जिल्लाबाट नेपाल प्रहरी, शसस्त्र पहरी र नेपाली सेनाको थप उद्दार टोली घटनास्थलतर्फ गएको छ। घटनाको थप विवरण आउन बाँकी छ।