जनकल्याण सहकारीको २१औँ साधारणसभा : ७७ लाख नाफा, १३ प्रतिशत लाभांश घोषणा

जनकल्याण सहकारीको २१औँ साधारणसभा : ७७ लाख नाफा, १३ प्रतिशत लाभांश घोषणा
मनाेज शाह जितपुर बारा असाेज ११ गते

जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, जीतपुरको २१औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। अध्यक्ष गोपालसिंह कँडेलको अध्यक्षतामा सम्पन्न सभामा संस्थाले आर्थिक वर्ष २०८२/०८३ मा ७७ लाख ३७ हजार ५०२ रुपैयाँ खुद नाफा आर्जन गरेको जानकारी गराइएको छ।


संस्थाको कुल सम्पत्ति तथा दायित्व १६ करोड ७९ लाख ३४ हजार २५६ रुपैयाँ रहेको विवरण सभामा प्रस्तुत गरिएको थियो। कोषाध्यक्ष किरणप्रकाश गिरीका अनुसार उक्त आर्थिक वर्षको मुनाफाबाट सदस्यलाई करिब १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरिएको छ।


सभामा प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरिनुका साथै आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पेस गरिएको थियो।
त्यस्तै, शेयर लाभांश, संरक्षित पुँजी फिर्ता कोष र कर्मचारी बोनस कोष वितरणलगायतका प्रस्ताव सभाले छलफलपछि अनुमोदन गरेको प्रबन्धक सन्तोष प्रसाद यादवले बताए।


संस्थाका सचिव कपिलदेव प्रसाद यादवले सदस्यको आर्थिक तथा सामाजिक हितलाई प्राथमिकतामा राख्दै वित्तीय अवस्था थप सुदृढ गर्ने, सेवा प्रभावकारी बनाउने र आगामी दिनमा कारोबार तथा सेवा विस्तार गर्ने लक्ष्य रहेको बताए।
सभामा सञ्चालक समिति सदस्य मुन्नी कुमारी न्यौपाने, लेखा सुपरिवेक्षण समिति संयोजक श्यामकृष्ण सुवेदी, शेयर सदस्य, कर्मचारी तथा विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन सह–प्रबन्धक आत्माराम अधिकारीले गरेका थिए।