बाराको अमलेखगञ्जमा रहेको हात्तीसारमा सुरक्षाकर्मी र सिकारी (तस्कर)बिच दोहोरो भिडन्त हुँदा एक तस्करको ज्यान गयो

बाराको अमलेखगञ्जमा रहेको हात्तीसारमा सुरक्षाकर्मी र सिकारी (तस्कर)बिच दोहोरो भिडन्त हुँदा एक तस्करको ज्यान गयो

मनोज शाह, जितपुर बारा, असार ७ गते :

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको वडा नं. २१ मा रहेको हातीसारमा सुरक्षाकर्मी तथा सिकारी (तस्कर) हरुबिच भिडन्त हुँदा सुरक्षाकर्मीले चलाएको गोली लागि एकजना तस्करको घटनास्थलमै मृत्यु भएको छ ।

सेनानी दिलबहादुर राना मगरले दिनुभएको जानकारी अनुसार आज बिहान ६:३० बजेको समयमा श्री सबुज गणको सुरक्षा पोष्ट हात्तीसारबाट दिर्घराज ऐरीको कमान्डमा खटेको १/३ जनाको नफ्रि र ग्यामिस्कड १ जना गरी जम्मा ५ जना सुरक्षाकर्मीको समुह तथा ४/५ जनाको समूहमा रहेको तस्कर (चोरी सिकारी) बिच ८:१५ बजेको समयमा पोखरीबासस्थित भेडाखोला दोभानमा मुठभेड हुँदा दोहोरो गोली हानाहान भएको छ । सुरक्षा फौजको जवाफी कारबाहीमा सुरक्षाकर्मीको गोली लागी एकजना तस्करको घटनास्थलमै मृत्यु भएको छ । सुरक्षाकर्मीको जवाफी कारवाहीमा मृत्यु भएको तस्कर हेटौंडा उपमहानगरपालिका वडा नं. १४ का ५२ वर्षीय सुकबहादुर तिक्तुङ्ग रहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख चिरञ्जीवी दाहालले जनाएका छन् ।

घटनामा संलग्न रहेका अन्य तस्कर/शिकारीहरु भने त्यस स्थानबाट फरार भएका छन् भने घटनास्थलबाट सुरक्षा फौजले दुई थान भरुवा बन्दुक र त्यसमा प्रयोग हुने ५७ राउन्ड गोली (सानो ठूलो), ३०० ग्राम बारुद, आठवटा केप, लाभा र एटिएल कम्पनीको दुईवटा (बटन भएको) मोबाइल, दुईवटा टर्च, हँसिया, चक्कु, खुकुरी, बरियो, नाम्लो, झोला, चप्पल, गुलेली, लाइटर आदि बरामद गरेको छ । उक्त दोहोरो भिडन्तमा नेपाली सेनातर्फबाट ४ राउन्ड फायर भएको सम्बन्धित निकायले जानकारी दिएको छ । थप अनुसन्धान भइरहेको सेनानीले जनाएका छन् ।