सरकारी कागजपत्र किर्ते आरोपमा व्यावसायी पटेल पक्राउ
मनाेज शाह जितपुर बारा जेठ २० गते:
सरकारी कागजात किर्ते गरेको आरोपमा बाराबाट एकजना ब्यवसायी पक्राउ परेका छन ।
पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर २३ भतौडा बस्ने ब्यवासायी अनिल पटेल रहेका छन् । आन्तरिक राजश्व कार्यालय सिमराको लेटरप्याड ,छाप र हस्ताक्षर किर्ते गरेको आरोपमा प्रहरीले पटेललाई पक्राउ गरेको हो ।
पक्राउ परेका पटेल हाडवेयर पसल, पेट्रोल पम्प लगायत खोला ठेक्का लिएर गिट्टी ,बालुवा जस्ता नदीजन्य पदार्थ बिक्रि बितरण गर्दै आएका थिए । राजश्व कार्यालयले बैँक खाताहरु राजश्व हिनामिना गरेको आरोपमा रोक्का गरेको अवस्थामा उनले राजश्व कार्यालयको लेटरप्याड, छाप र हस्ताक्षर किर्ते गरेर बैँकलाई फुकुवा गर्न पत्र लेखेको थिए ।
आन्तरिक राजश्व कार्यालयले उक्त बिषयमा जानकारी प्राप्त गरिसकेपछि ईलाका प्रहरी कार्यालय सिमरालाई कारवाहीको लागि पत्र लेखेको थियो । प्रहरीले पटेललाई हिरासतमा राखि साँत दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रहरी हिरासतमा रहेका पटेललाई छुटाउँनको लागि चलखेल भईरहेको एक स्रोतले जनाएको छ । यस बिषयमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खड्काले पटेललाई लेटरप्याड ,छाप र हस्ताक्षर किर्ते गरेको कर कार्यालय सिमराको पत्रबाट पक्राउ गरेको जानकारी दिएका छन । उनले यो बिषयमा अनुसन्धान भईरहेकाले थप जानकारी पछि दिने बताएका थिए ।