बाराको औराहमा ६ करोडको भव्य ‘बाबाजी लक्ष्मीधाम’ मन्दिर उद्घाटन हुँदै, अन्तर्राष्ट्रिय धर्म महोत्सवमा दैनिक १५ हजार भक्तजन जुट्ने अपेक्षा
स्पर्श खबर जितपुर मंसिर ५ गते:
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहमा नवनिर्मित श्रीकृष्ण मन्दिर परिसरमा ‘श्रीकृष्ण प्रणामी धर्म अन्तर्राष्ट्रिय महोत्सव’ आयोजना हुने भएको छ। मंसिर १० गतेदेखि १६ गतेसम्म सञ्चालन हुने साताव्यापी महोत्सवमा देश तथा विदेशबाट हजारौँ धर्मावलम्बी र भक्तजन सहभागी हुने आयोजकले अपेक्षा गरेको छ।

करिब ६ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको विशाल मन्दिरलाई ‘बाबाजी लक्ष्मीधाम’ का रूपमा स्थापना गर्ने लक्ष्य राखिएको छ। शनिबार मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले महोत्सवको तयारी, कार्यक्रम र उद्देश्यबारे जानकारी गराएको हो।
महोत्सवको विशेष आकर्षणका रूपमा श्रीमत्तारतम सागरको १२५ पारायण वाचन गरिनेछ। मूल समारोह समितिका संयोजक जनार्दनजी शास्त्रीका अनुसार मंसिर १० गते बिहान भव्य कलश यात्रा निकालिनेछ। सोही दिन नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको उपस्थितिमा नवनिर्मित मन्दिरको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।

महोत्सवमा धर्मगुरु आचार्य श्रीकृष्णमणिजी महाराजश्री र सूर्यनारायणदासजी महाराजश्रीबाट आशीर्वचन प्रदान गरिनेछ। भारतका श्री १०८ नवतनपुरी धाम, श्री १०८ महामंगलपुरी धाम र श्री १०८ पद्मावतीपुरी धामबाट महन्त, साधुसन्त, पण्डित, प्रचारक तथा विदुषीहरूको विशेष सहभागिता रहने आयोजकले जनाएको छ।
महोत्सव अवधिभर चौरासी पूजा, व्रतबन्धलगायत विभिन्न धार्मिक अनुष्ठानसमेत सञ्चालन हुनेछन्। १२५ पारायण सेवाका लागि ब्रह्ममुनीहरूको चयनसमेत भइसकेको जनाइएको छ।
आयोजकका अनुसार महोत्सवमा देशका विभिन्न स्थानबाट दैनिक करिब १५ हजार भक्तजन सहभागी हुने अनुमान गरिएको छ। भक्तजन तथा अतिथिको व्यवस्थापनका लागि दैनिक करिब तीन हजार जनालाई बसोबासको व्यवस्था मिलाइएको मूल समारोह समितिका महासचिव दीपकप्रसाद भट्टले जानकारी दिए। स्थानीय विद्यालय, मन्दिर, सहकारी संस्थाका सभाहल तथा स्थानीय भक्तजनका निजी आवासमा समेत पाहुनालाई राख्ने व्यवस्था गरिएको छ।

महोत्सव सम्पन्न गर्न करिब डेढ करोड रुपैयाँ खर्च हुने र करिब पाँच करोड रुपैयाँ आम्दानी हुने आयोजकको अनुमान छ। महोत्सवबाट बचत हुने रकमले मन्दिर आसपासको जग्गा खरिद गरी ‘बाबाजी लक्ष्मीधाम’ मा गुरुकुल सञ्चालन गर्ने महत्वाकांक्षी लक्ष्य राखिएको छ।
पत्रकार सम्मेलनमा बोल्दै जीतपुरसिमरा–४ का वडाध्यक्ष भोजबहादुर खत्री (इश्वर) ले महोत्सवलाई सफल बनाउन सबै पक्षसँग सहयोगको अपिल गरे। उनले यस्ता धार्मिक कार्यक्रमले स्थानीय धार्मिक पर्यटन प्रवर्द्धनसँगै क्षेत्रको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
पत्रकार सम्मेलनमा श्री १०८ सुरेन्द्र महाराजजी, यमनाथ भट्ट, उषा घिमिरे, प्रलाद शास्त्री, घनश्याम शास्त्री, पुरुषोत्तम शास्त्री, श्याम शास्त्री, मधुसुधन सिटौला तथा युवा समाजसेवी श्यामबाबु गुप्तालगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण सुमनप्रसाद सुवेदीले गरेका थिए।
धार्मिक आस्था, अन्तर्राष्ट्रिय सहभागिता र गुरुकुल स्थापनाको लक्ष्यसहित आयोजना हुन लागेको यस महोत्सवले औराहलाई धार्मिक पर्यटनको नयाँ गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।