गणपूरक संख्या नपुग्दा जितपुरको फकिरा गिरी माविको व्यवस्थापन समिति गठन प्रक्रिया रोकियो
स्पर्श खबर जितपुर बारा असाेज २१ गते:
बाराको जीतपुरसिमरा–७ जितपुरस्थित श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनका लागि बोलाइएको अभिभावक भेला गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ।

विद्यालयका प्रधानाध्यापक राजुकुमार सिंहका अनुसार आवश्यक संख्यामा अभिभावक उपस्थित नभएपछि अर्को सूचना जारी नभएसम्मका लागि भेला स्थगित गरिएको हो। कक्षा १२ समेत सञ्चालनमा रहेको विद्यालयमा व्यवस्थापन समिति अध्यक्ष तथा सदस्यका लागि कक्षा १२ उत्तीर्ण अभिभावक हुनुपर्ने व्यवस्थाले पनि आवश्यक संख्या जुटाउन चुनौती देखिएको बताइएको छ।
भेलाका प्रमुख अतिथि मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरीले विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय सुधारका लागि अभिभावक, शिक्षक र समुदायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। उनले समिति गठन गर्दा कुनै स्वार्थभन्दा विद्यालयको हित र विद्यार्थीको शैक्षिक गुणस्तरलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।
जीतपुरसिमरा उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख शिवजी साहले प्रचलित कानुनी व्यवस्था र आवश्यक प्रक्रिया पूरा गरेर मात्र विद्यालय व्यवस्थापन समिति गठन गर्नुपर्ने बताए। उनले पर्याप्त अभिभावक सहभागिता सुनिश्चित गरेर प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए।
कार्यक्रमका अध्यक्ष तथा वडा नं. ७ का वडाध्यक्ष सुनिल गुप्ताले विद्यालयको व्यवस्थापन र शैक्षिक सुधारमा अभिभावकको सक्रिय भूमिका अपरिहार्य रहेको बताए।
भेलामा वडा सदस्य सीता उप्रेती, नुरुल्लाह अन्सारी, समाजसेवी खेदु प्रसाद कलवारलगायत अभिभावकको सहभागिता थियो। शिक्षक चुडामणि शर्माले स्वागत गरेको कार्यक्रम शिक्षक रामबहादुर चौधरीले सञ्चालन गरेका थिए।