दोस्रो महिला फुटबल, तर ‘छैटौँ संस्करण’!पुरुष प्रतियोगिता गनेर अन्तर्राष्ट्रियको आवरण, जनताको करबाट फेरि लाखौँ खर्च

दोस्रो महिला फुटबल, तर ‘छैटौँ संस्करण’!
पुरुष प्रतियोगिता गनेर अन्तर्राष्ट्रियको आवरण, जनताको करबाट फेरि लाखौँ खर्च
स्पर्श खबर जितपुर बारा असाेज १७ गते:

सिमरामा आजदेखि छैटौँ जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता सुरु हुँदैछ। तर नाममा ‘छैटौँ’, मैदानमा भने महिला फुटबलको दोस्रो संस्करण मात्रै।
जनताको करबाट वर्षेनी लाखौँ रुपैयाँ खर्च गरेर आयोजना गरिने प्रतियोगितालाई ‘अन्तर्राष्ट्रिय’को आवरण दिइए पनि महिला फुटबलको नियमित विकास, खेलाडी उत्पादन र दीर्घकालीन पूर्वाधार निर्माणमा उपलब्धि के भयो भन्ने प्रश्न उठेको छ।
महिला फुटबल दोस्रोपटक मात्रै आयोजना हुँदै गर्दा प्रतियोगितालाई छैटौँ संस्करण भनिएपछि आयोजककै दाबीले विवाद झनै चर्काएको छ। सिमरा भेट्रान क्लबका प्रतियोगिता संयोजकले महिला फुटबल दोस्रोपटक भएको स्वीकार गर्दै विगतमा क्लबले आयोजना गरेका चार पुरुष फुटबल प्रतियोगितालाई जोडेर छैटौँ संस्करण भनिएको बताएका छन्।
क्लबका अध्यक्ष विजय राउतले समेत महिला प्रतियोगिताका लागि ‘छैटौँ संस्करण’ लेख्नु एक हिसाबले गलत भएको स्वीकार गरेका छन्।
चारवटा पुरुष प्रतियोगिता र दुईवटा महिला प्रतियोगितालाई एउटै श्रृंखलामा जोडेर महिला फुटबललाई ‘छैटौँ’ बनाइएको विषयले आयोजकको पारदर्शिता र दाबीमाथि प्रश्न उठाएको छ।
प्रतियोगिता आयोजना गर्नु आफैंमा गलत होइन। तर सार्वजनिक स्रोतबाट लाखौँ रुपैयाँ खर्च हुने खेलकुद कार्यक्रममा नाम र संस्करणको तथ्यसमेत स्पष्ट नहुनु गम्भीर प्रश्न हो।
अब प्रश्न सीधा छ—दोस्रो महिला फुटबल प्रतियोगितालाई छैटौँ बनाएर देखाउनु खेलकुदको विकास हो कि अंकको खेल?
जनताको करबाट खर्च हुने रकमको हिसाबसँगै प्रतियोगिताको वास्तविक इतिहास, खर्च र उपलब्धिको सार्वजनिक जवाफ आयोजक तथा सम्बन्धित निकायले दिनुपर्ने देखिन्छ।