वर्षौँको अन्योलपछि भूमिहीनको हातमा निस्सा, ३४६ परिवार लाभान्वित
मनाेज शाह जितपुर बारा असाेज ८ गते:
बारा जिल्लाको निजगढ नगरपालिका–२ मा वर्षौँदेखि जग्गा भएर पनि स्वामित्वको प्रमाण नहुँदा अन्योलमा रहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिएको छ।
वडाध्यक्ष राजन श्रेष्ठका अनुसार सहजीकरण समितिबाट निस्सा वितरणको काम अघि बढाइएको हो। वडामा वितरण गर्नुपर्ने ४४४ निस्सामध्ये ३४६ वटा निस्सा वितरण भइसकेको उनले बताए। विवादित जग्गासँग सम्बन्धित केही निस्सा भने रोकिएको छ।

श्रेष्ठका अनुसार निस्सा वितरणपछि आवश्यक प्रक्रिया पूरा गरी कार्यपालिका बैठकको निर्णयअनुसार सम्बन्धित कागजात जिल्ला भूमि आयोगमा पठाइनेछ, जसबाट लालपुर्जा वितरणको प्रक्रिया अघि बढ्नेछ।
स्थानीय बासिन्दा कोपिला सिमखडाले वर्षौँदेखि जग्गामा बसोबास गरे पनि कुनै बेला उठिबास हुनुपर्ने हो कि भन्ने त्रास रहेको बताइन्। अहिले निस्सा पाएपछि आफूहरूमा जग्गा र घर सुरक्षित हुने विश्वास बढेको उनको भनाइ छ।
अर्की स्थानीय आशा नेपालले आफूहरूसँग वर्षौँदेखि जग्गा र घर भए पनि त्यसको कानुनी स्वामित्व स्पष्ट नभएको बताइन्। निस्सा पाएपछि अब आफ्नो घर–जग्गा सुरक्षित हुने आशा जागेको भन्दै उनले वडाध्यक्ष श्रेष्ठकै कार्यकालमा लालपुर्जा पाए अझ खुसी हुने बताइन्।
वडाध्यक्ष श्रेष्ठले पचासौँ वर्षदेखि बसोबास गर्दै आएका भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिएको बताए। अब निस्सालाई आधार बनाएर लालपुर्जा प्राप्तिको प्रक्रिया अघि बढाउने तयारी रहेको उनको भनाइ छ।