सर्पदंशले ज्यान लिन थालेपछि बल्ल खुल्यो बाटो, सिमरा नगर अस्पताललाई उपचार केन्द्रको अनुमति
स्पर्श खबर जितपुर बारा असाेज ७ गते:
जीतपुरसिमरा उपमहानगरपालिका–२, सिमरास्थित जीतपुरसिमरा नगर अस्पतालले सर्पदंश उपचार केन्द्र सञ्चालनको औपचारिक अनुमति पाएको छ।

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अस्पताललाई २०८३ असोज ५ गतेदेखि २०८७ असोज ४ गतेसम्म सर्पदंश उपचार केन्द्र सञ्चालन गर्ने अनुमति दिएको हो।
उपमहानगरपालिकाको निवेदनपछि महाशाखाले अस्पतालको अनुगमन गर्दा आवश्यक मापदण्ड पूरा भएको पाइएपछि ‘सर्पदंश उपचार केन्द्र सञ्चालन सम्बन्धी मापदण्ड, २०७७’ अनुसार अनुमति दिइएको हो।

महाशाखाका निर्देशक डा. अनुज भट्टचनद्वारा प्रमाणित अनुमति पत्र प्राप्त भएसँगै अब सिमरामै सर्पदंशका बिरामीको उपचार गर्ने बाटो खुलेको छ। तर एन्टिभेनम र आवश्यक जनशक्ति व्यवस्थापन भएपछि मात्रै सेवा पूर्ण रूपमा सञ्चालनमा आउने जनाइएको छ।
जुनोटिक तथा अन्य सरुवा रोग नियन्त्रण शाखाका प्रमुख डा. अमृत पोखरेलका अनुसार अस्पतालका स्वास्थ्यकर्मीलाई सर्पदंश उपचारसम्बन्धी तालिममा विशेष कोटामार्फत सहभागी गराइएको छ। प्रदेश सरकारबाट एन्टिभेनम प्राप्त भएपछि सेवा छिट्टै सुरु गरिने उहाँले बताउनुभयो।

केही महिनाअघि जीतपुरसिमरा क्षेत्रका सुप्रिया दोङ र दियनशी राना मगरको सर्पदंशका कारण मृत्यु भएपछि स्थानीयस्तरमै उपचार केन्द्रको माग तीव्र बनेको थियो। समयमै उपचार नपाउँदा बालिकाको मृत्यु भएको घटनापछि सिमरामै सर्पदंश उपचार सेवा सञ्चालन गर्न स्थानीयले दबाब दिँदै आएका थिए।
यसबीच नेकपा एमाले मधेश प्रदेशका सचिव मनोज पौडेलले समेत स्वास्थ्य सेवा विभागअन्तर्गतको महाशाखामा पुगेर उपचार केन्द्र सञ्चालनका लागि पहल गर्नुभएको थियो। उपमहानगरपालिकाको निरन्तर प्रयाससँगै केन्द्र सञ्चालनको औपचारिक अनुमति प्राप्त भएको हो।
अब अनुमति पाएर मात्रै नहुने भन्दै स्थानीयले एन्टिभेनम, उपकरण र दक्ष जनशक्ति तत्काल व्यवस्थापन गरी सेवा सुरु गर्न उपमहानगरपालिकासँग माग गरेका छन्। केन्द्र सञ्चालनमा आएपछि सर्पदंशका बिरामीलाई वीरगञ्जलगायत टाढाका अस्पताल धाउनुपर्ने बाध्यता घट्ने र उपचारमा हुने ढिलाइबाट ज्यान जाने जोखिम कम हुने अपेक्षा गरिएको छ।