तीन वर्षीया बालिका बलात्कारपछि हत्या प्रकरण : पक्राउ परेका १० जना अदालतबाट छुटे

तीन वर्षीया बालिका बलात्कारपछि हत्या प्रकरण : पक्राउ परेका १० जना अदालतबाट छुटे
स्पर्श खबर जितपुर बारा भदौ २६ गते:

जीतपुरसिमरा–१ की तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको घटनामा पक्राउ परेका १० जना बारा जिल्ला अदालतको आदेशपछि हिरासतमुक्त भएका छन्।


न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले प्रोग्रेश भनिने पुरग्रेश चौधरीलाई २० हजार रुपैयाँ धरौटीमा र अन्य नौ जनालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो।
अदालतले घटनामा उनीहरूको संलग्नता देखाउने पर्याप्त र ठोस प्रमाण नदेखिएको आदेशमा उल्लेख गरेको छ। बालिकाका बुवा मनोज चौधरीको किटानी जाहेरीका आधारमा उनीहरूमाथि अपहरण, जबरजस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाइएको थियो।
यसअघि घटनामा संलग्न भनिएका दुई नाबालकलाई भने मुद्दाको अन्तिम टुंगो नलागेसम्म वीरगञ्जस्थित बाल सुधार गृहमा पठाउने आदेश भएको थियो।
गत साउन ३१ गतेदेखि बेपत्ता बालिकाको शव भदौ २ गते घरनजिकैको खाली घरमा फेला परेको थियो। घटनापछि देशभर विरोध प्रदर्शन चर्किएको थियो। पीडित परिवार र सरकारबीच तीन बुँदे सहमति भएपछि भदौ ७ गते बालिकाको अन्त्येष्टि गरिएको थियो।
गम्भीर अपराधको आरोप लागेका अधिकांश प्रतिवादी प्रमाण अभावमा छुटेपछि घटनाको अनुसन्धान र प्रमाण संकलनमाथि समेत प्रश्न उठेको छ।