जितपुरमा गणेश पूजाको रौनक बढ्दै, शान्तिटोल धर्माशालमा धमाधम मूर्ति तयारी
स्पर्श खबर जितपुर बारा भदौ १८ गते:
हरेक वर्षझैँ यस वर्ष पनि **जितपुरसिमरा उपमहानगरपालिका–७, जितपुरको शान्तिटोल धर्माशालमा भव्य गणेश पूजा आयोजना हुने भएको छ। पूजा नजिकिँदै जाँदा गणेश भगवानको आकर्षक मूर्ति निर्माण कार्य धमाधम भइरहेको छ।

गणेश पूजा समितिका अध्यक्ष श्रीराम शाहका अनुसार यस वर्षको गणेश पूजालाई विगतभन्दा थप भव्य र आकर्षक बनाउने तयारी गरिएको छ। पूजा तथा सम्पूर्ण व्यवस्थापनका लागि करिब ७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको उनले बताए।
समितिका सदस्य शनि गुप्ताले गणेश भगवानको मूर्ति निर्माण कार्य तीव्र गतिमा भइरहेको जानकारी दिँदै मेलामा भक्तजन तथा सर्वसाधारणको मनोरञ्जनका लागि विभिन्न प्रकारका झुलुवा, पिङ तथा मनोरञ्जनात्मक सर्कलहरू समेत सञ्चालन गरिने बताए।
सात दिनसम्म सञ्चालन हुने गणेश मेलामा विशेष आकर्षणका रूपमा भव्य शोभायात्रा पनि निकालिनेछ। गणेश पूजाको तयारीसँगै अहिले जितपुर क्षेत्रमा धार्मिक तथा उत्सवमय माहोल बढ्न थालेको छ।