दुधौरा खोला किनारको ६४ घरधुरी हटाउने तयारी, स्थानीयको चेतावनी

दुधौरा खोला किनारको ६४ घरधुरी हटाउने तयारी, स्थानीयको चेतावनी—‘व्यवस्थापन बिना हट्दैनौँ’
स्पर्श खबर जितपुर बारा भदौ १७ गते:

जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित दुधौरा खोला नजिक वन क्षेत्रमा बसोबास गर्दै आएका ६४ घरधुरीलाई हटाउन डिभिजन वन कार्यालय बाराले सूचना टाँस गरेको छ।


वर्षौंदेखि बसोबास गर्दै आएका स्थानीयले भने उचित व्यवस्थापन नगरी आफूहरूलाई हटाउन खोजिएको भन्दै विरोध जनाएका छन्।
स्थानीय सम्झना लामाले भनिन्, “हामी वर्षौंदेखि यहाँ बस्दै आएका छौँ, हामी कहाँ जाने? हामी हट्दैनौँ।”
त्यस्तै स्थानीय दमनसिंह मगरले पहिले वन कार्यालयकै पहलमा नापजाँच गरी आफूहरूलाई बसोबास गराइएको दाबी गर्दै विद्यालय र विद्युत् सुविधा समेत दिइएको बताए। उनले भने, “हामी हट्न तयार छौँ, तर सरकारले उचित व्यवस्थापन गर्नुपर्छ।


स्थानीय फुलमाया तामाङले सरकारले वैकल्पिक व्यवस्थापन नगरेसम्म बस्ती नछाड्ने चेतावनी दिइन्।
यता डिभिजन वन कार्यालय बाराका प्रमुख सुजितकुमार झाले कार्यालयले पटक–पटक सूचना जारी गरे पनि स्थानीयले अटेर गरिरहेको बताएका छन्। उनका अनुसार दुधौरा आसपासका अतिक्रमित तथा जोखिमयुक्त बस्ती हटाउने प्रक्रिया अघि बढाइएको छ।


अब प्रश्न उठेको छ—वर्षौंदेखि बस्दै आएका ६४ घरधुरीलाई हटाउनुअघि सरकारले उनीहरूको सुरक्षित र उचित व्यवस्थापन गर्छ कि गर्दैन?